भत्केका स्वास्थ्य चौकी युएनडिपीले बनाइदिने

28
Shares

नुवाकोट, २६ माघ । विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम(युएनडिपी)ले बनाउने भएको छ ।

जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाए पनि जिम्मा लिएको एक वर्षसम्म काम नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार एकवर्षअघि नेपालका लागि कोरियाली राजदूत आएर बेलकोटमा रहेको स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरेपनि त्यसपछि अहिलेसम्म कामको प्रगति शून्य भएकाले भवन निर्माणको जिम्मेवारी परिवर्तन गरिएको हो ।

दश स्थानमध्ये दुईपिपल स्वास्थ्य चौकी निर्माणका लागि नेपाल सरकारबाट बजेट प्राप्त भएपछि बाँकी नौ स्थानका स्वास्थ्य चौकी निर्माण युएनडिपीमार्फत गराउन लागिएको छ । उक्त स्वास्थ्य चौकीको सेमी–पर्मानेन्ट भवन गएको जेठ १५ गतेभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *