किन घट्दै छ विश्वास सरकारी स्वास्थ्य संस्थामा

76
Shares

जाजरकोट, १६ माघ । नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा गए । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्किए । टाउको दुखेको औषधिलाई उनले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याए ।

मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन् । औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर विकलाई जाँच गरी हजार रुपैयाँभन्दा बढीको औषधि थमाएपछि छिटो सञ्चो हुने आशले औषधि खरिद गरी लिएका हुन्।

उनी जस्तै सोही वडाकै जैमती खत्रीले पेट दुखेको औषधि गरिदिन अर्को मेडिकलमा पुगे । उनको पनि त्यस्तैगरी मेडिकल पसलेले अनुमानको भरमा पेट छामेर रु एक हजार ३०० को औषधि हातमा थमाइदिए । उनले केही नबोली औषधिको रकम तिरेर घर फर्किए ।

यस्तै दैनिक यहाँका मेडिकलमा दर्जनौँ बिरामी यसरी आएर उपचार गरी जाने गरेका छन् । मेडिकलबाट कडा डोजको औषधि बिरामीले लिएर सेवन गर्दा आजभोलि खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गर्दैन ।

बिरामी हुने बित्तिकै निजी मेडिकलमा मात्र गएर औषधि सेवन गर्दै आएकी छिन् । सरकारी स्वास्थ्य संस्थाभन्दा दैनिक निजी मेडिकलमा बिरामीको भीड लाग्ने गर्दछ । सरकारी स्वास्थ्य संस्थाभन्दा आजभोलि दैनिक निजी मेडिकलमा मात्र बिरामीको भीड लाग्ने गर्दछ । सरकारीमा जाँदा औषधि नै नहुने र दिएको औषधिले पनि राम्रो सँग काम नगर्ने भएकाले आफू जान छाडेको वारेकोट गाउँपालिका–५ का शेरबहादुर बस्नेतले बताए।

पैसा खर्च गरेर भए पनि छिटो सञ्चो हुने उनको भनाइ छ । सरकारीमा राम्रो सेवासुविधा पाइने भएमा किन हामी पैसा खर्च गरी मेडिकलमा गई उपचार गराउने थियौँ र ?, बस्नेतले प्रश्न गरे।

जाजरकोटका ग्रामीण क्षेत्रदेखि जिल्ला अस्पतालसम्म बिरामीले विश्वास नमानेपछि निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको बताउँछन् । जाजरकोटको जिल्ला अस्पतालभन्दा २० किलोमिटर टाढा, रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठूलो भीड रहेको छ । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाभन्दा निजी स्तरबाट खुलेका औषधि पसलमा बिरामीको ठूलो भीड हुने गरेको छ ।

नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधि पनि सबै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठूलो समस्या हो । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई स्वास्थ्यकर्मीको रुखो बोलीले समेत पीडित बनाएको बिरामीको भनाइ छ ।

बिरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै बिरामीप्रति ध्यान नदिँदा थप पीडा हुने गरेको स्थानीयवासीको गुनासो छ । तोकिएको समयमा उपचार नगर्ने, यदि गरिहाले पनि बिरामीको आत्मबल कमजोर हुने गरी केरकार गर्दा उपचारभन्दा पीडा बढी हुने गरेको भेरी नगरपालिका–१ की हजारी विकले बताइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *