उप-क्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

60
Shares

 

 

डडेल्धुरा, १५ माघ ।उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहँुदा बिरामी मर्कामा परेका छन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् ।

 

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य छ जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन् ।

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम्डिजिपी डाक्टर रहेका छन् । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका नि।मेसु जितेन्द्र कँडेलले बताए ।

बालरोग विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा एक वर्ष पहिले स्थापना भएको एनआइसियु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । एनआइसियु सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका बिरामी बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता रहेको छ ।

दरबन्दीअनुसारका चिकित्सक नआउँदा यो क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *