खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुरु
खोटाङ, २४ पुस । खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ताका काम आजदेखि शुरु गरिएको छ । बीमितको स्वास्थ्य बीमाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले बीमितको नाम दर्ता एवम् परिचयपत्र वितरण शुरु गरेको हो ।
आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बीमितको नाम दर्ता एवम् परिचयपत्र वितरण शुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । पाँच जनासम्मको परिवारले वार्षिक रुपमा २५ सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने सुनेपछि स्थानीय स्वास्थ्य बीमाप्रति हौसिएका छन् ।
पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका सबै तहमा एकैसाथ कार्यक्रम शुरु गरिएको जनाइएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




