स्वास्थ्य बीमामा १७ सय परिवार आबद्ध

28
Shares

बाबियाचौर, १६ पुस । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब १ हजार ७ सय परिवार आबद्ध भएका छन्।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो। १ वर्षको अवधिमा १ हजार ६ सय ७४ परिवारका ७ हजार १ सय ६० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डितले जानकारी दिए।

स्वास्थ्य बीमाबापत ४३ लाख ७८ हजार ६ सय २० रुपैयाँ संकलन भएको छ। स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म बेनी अस्पतालबाट २ हजार ५ सय १९ जनाले १३ लाख २९ हजार ९ सय ३६ र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५ सय ५१ जनाले १ लाख ५३ हजार ५ सय २४ बराबरको औषधि, उपचार सेवा प्राप्त गरेको समितिले जनाएको छ।

धौगागिरि गाउँपालिका– ७ ताकमका तुलसीनाथ सुवेदीले २ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरेको तर १० हजार बराबरको उपचार सेवा प्राप्त गरेको बताए। स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाएको जनाउँदै सुवेदीले उपचारकै लागि ऋण खोज्नुपर्ने वाध्यता टरेको बताए।

बेनी अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बाग्लुङका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएका काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था छ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५ सय तिर्नुपर्ने र पाँच भन्दा बढी भए प्रति सदस्य ४ सय २५ का दरले थप रकम शुल्क तिरेर १ वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ। ५ जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैयाँ सम्मको सेवा पाइनेछ भने ५भन्दा थप सदस्य भएमा जनही १० हजार रुपैयाँ गरी बढीमा १ लाखसम्मको सेवा पाइनेछ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन्।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ। म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालित छन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *