डिउटीका चिकित्सकमाथि छुरी ताकियो, नर्सलाई धकेलेर घाँटी थिचियो

काठमाडौँ, १९ मंसिर । भक्तपुरस्थित कोरिया नेपाल मैत्री अस्पतालमा उपचारका लागि पुगेका एक विरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् ।
सोमबार साँझ साढे छ बजे तिर अस्पतालको इमरजेन्सीमा डिउटीमा रहेका मेडिकल अधिकृत डा. सञ्जय त्रिपाठी र त्यहि कार्यरत दुई जना नर्स माथि आक्रमण गरेका हुन् ।
आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्।
डक्टर्स सोसाइटीकी महासचिव डा. तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए। त्यसपछि उनले नजिकै रहेकी नर्सलाई समातेर घाँटी थिचेका थिए। अस्पतालका अन्य स्टाफ तथा विरामीका आफन्तले तत्कालै आक्रमणकारीलाई तानेर जोगाएको महासचिव डा. कार्कीले बताइन ।
घटना पछि आएको प्रहरीले आक्रमण गर्ने ति व्यक्तिलाई नियन्त्रणमा लिएको छ । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले केही नभएको भन्दै घर लगेका छन् ।
डाक्टरलाई आक्रमण गर्ने व्यक्ति मानसिक सन्तुलन गुमेको हुन सक्ने भए पनि यथार्थ पत्ता नलागेको डा. कार्कीले बताइन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



