आँखा शिविरबाट स्थानीयवासी लाभान्वित
पाल्पा, २७ कात्तिक । आँखाको समस्याले लामो समयदेखि बिरामी परेका ८१ वर्षीय चुरामणि खनाल गाउँमै आँखा परीक्षण गर्न पाउँदा निकै खुशी देखिएका छन् । खनाल शारीरिक रुपमा अशक्त भएकाले आँखाको समस्याले रातदिन पिरोल्ने गथ्र्यो तर उपचार गर्न नजिकै अस्पताल नहुँदा उनी समस्यामा परेका थिए।
सामुदायिक रेडियो रामपुर पाल्पाले शनिबार नवौँ वार्षिकउत्सवका अवसरमा दुर्गम र विकट मानिने तनहुँको घिरिङ गाउँपालिका–१ को भण्टारमा निःशुल्क आँखा शिविरबाट सेवा लिन पाउँदा उनी खुशी छन् । उनीजस्तै शिविरमा सेवा लिन आएकी ७४ वर्षीय लीलाकुमारी श्रेष्ठ पनि आँखा परीक्षण गरेर निःशुल्क औषधि उपचार पाएपछि उत्साहित भएकी छन्। सोही ठाउँकै ६५ वर्षीय अन्तनारायण श्रेष्ठ यस गाउँमा पहिलो पटक आँखा शिविरमार्फत आँखा परीक्षण तथा औाषधि उपचार पाउँदा ठूलो राहत मिलेको बताउछन् ।
“आँखा उपचारका लागि यहाँबाट आउनजान तीन/तीन घण्टाको पैदल हिँडेर रामपुर पुग्न समय लाग्छ, बूढेसकाल लागेपछि हिँड्न नसक्दा घरमै रोग पालेर बस्नुपर्ने बाध्यता छ”, उनले भने । यसरी नै बेलाबेलामा शिविर सञ्चालन गरेर सेवा दिन उनले आग्रह गरे। कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरको प्राविधि सहयोग, नमूना बालक्लब र भण्टार एकता समाजको व्यवस्थापनमा चलेको शिविरमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयवासीले सेवा लिएका छन् । गाउँघरमै आँखा परीक्षण, औषधि उपचार सेवा पाउँदा यस क्षेत्रका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।
शिविरमा २०९ जनाको आँखा परीक्षण गरिएकामध्ये नौ जनामा मोतियाविन्दु र एक जनामा मासु पलाएको बिरामी फेला परेको प्राविधिक सुन्दर रानाले बताए। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पचास प्रतिशत छुटमा कालीगण्डकी आँखा अस्पतालमा रिफर गरिएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



