बर्दिवासमा डेंगुको त्रास

24
Shares

बर्दिवास, १२ कात्तिक। महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ ।

गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।

दिनहुँ डेंगु रोगी बढ्दै गए पनि विषादि छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादि छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् ।

घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ । विषादिले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताए।

पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् । अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा अधिकारीले जानकारी दिए।

लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *