अकुलोप्लाष्टिक सम्वन्धी राष्ट्रिय सम्मेलन राजधानीमा शुरु
काठमाडौँ, १० कात्तिक । आँखाको प्लाष्टिक शल्यक्रिया (अकुलोप्लाष्टिक) सम्वन्धी तेस्रो राष्ट्रिय सम्मेलन आज देखि राजधानीमा शुरु भएको छ । नेपाल अकुलोप्लाष्टिक सोसाइटी फर सर्जनस्को आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ ।
सम्मेलनमा भाग लिन देशभरका अकुलोप्लाष्टिक सर्जन राजधानीमा भित्रिएका छन् । त्यसबाहेक विदेशी विज्ञसमेत सहभागी भएका छन् । आयोजक संस्था नेपाल अकुलोप्लाष्टिक सोसाइटी फर सर्जनस्का अध्यक्ष डा. रोहित सैजुका अनुसार सम्मेलनमा १२ स्वदेशी र २२ विदेशी गरी ३४ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न क्यानडा, बेलायत, अमेरिका, स्वीजरल्याण्ड, ब्राजिल, चिली, स्पेन, जापान, भारत, पाकिस्तान र बंगलादेशका विज्ञहरु सहभागी छन् ।
सुन्दर दृष्टिका लागि सहकार्य भन्ने नाराका साथ शुरु भएको सम्मेलनको मुख्य उदेश्य देशमा आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यक्रिया सेवा गुणस्तरीय रुपमा उपलव्ध गराउने रहेको छ । त्यस्तै आँखा सम्वन्धी युवा डाक्टरहरुमा प्लाष्टिक शल्यक्रियाका विषयमा सहभागिता बढाउने र ज्ञान क्षमता अभिबृद्धि गर्ने रहेको आयोजक समितिका अध्यक्ष एवं अकुलोप्लाष्टिक विशेषज्ञ डा सैजु बताउँछन् ।
उनी भन्छन्, ‘अकुलोप्लाष्टिक आँखा स्वास्थ्यको त्यो विशिष्ट सेवा हो जुन आँखाको सौन्दर्य बढाउन देखि क्यान्सर रोगको उपचारमा समेत प्रयोग गर्न सकिन्छ ।’
उनले दुर्घटनाका बिग्रेको आँखा बनाउने देखि प्राकृतिक रुपमा परिवर्तन गर्न चाहने सम्मलाई यो विधाले समेटने बताए ।डा सैजुले यसपटकको सम्मेलन यहि विषयमा केन्द्रीत रहने जानकारी दिए ।
यो सम्मेलन आँखाको प्लाष्टिक शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सकका लागि विशेष हुने बताइएको छ । मुख्य कार्यक्रम बाहेक अन्य विषय जस्तै आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ, आँसु नली, आँखाको क्यान्सर, आँखाको सुन्दरता र जटील रोग सम्बन्धि अन्तरक्रिया लेक्चर र पोस्टर को माध्यममाबाट जानकारी दिइने बताइएको छ ।
डा सैजुंका अनुसार सामान्य अकुलोप्लाष्टिक सेवा नेपालमा विभिन्न आँखा अस्पतालले उपलब्ध गराइरहेका छन् तर प्रमूख र जटिल अकुलोप्लाष्टिक शल्यक्रियाको लागि स्थानिय रुपमा अकुलोप्लाष्टिक दक्ष चिकित्सकको अभावमा राजधानी सम्म धाउनुपर्ने बाध्यता रहेको छ । यो अवस्था हिमाल र पहाडी क्षेत्रका जनताको लागि निकै कष्टकर रहेको छ ।
तिलगंगामा मात्रै बार्षिक १० बढीको अकुलोप्लाष्टिक सर्जरी ?
यसैबीच तिलगंगा आँखा प्रतिष्ठानले आफूकहाँ बार्षिक रुपमा करिब १० हजार बढी अकुलोप्लाष्टिक समस्या भएका विरामीहरु आइरहेको बताएको छ । प्रतिष्ठानले त्यसबाहेक बार्षिक रुपमा १ हजार ५ सय बढीले सानो तिनो शल्यक्रिया गर्ने गरेको जनाएको छ ।
अहिले अकुलोप्लाष्टिक सम्वन्धी जनचेतना बढदै जाँदा केस समेत बढदै गएको जनाएको छ । अकुलोप्लाष्टिक सम्बन्धि रहदै आयको जनचेतनाको अभाव हाल केही सुधार्ने प्रयत्न भएको जनाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



