रगत जाँचमा ‘सीए–१२५’ को मात्रा बढ्नुको अर्थ क्यान्सर नै हो त ?

0
Shares

रगतको जाँचमा सीए–१२५ (CA-125) को स्तर उच्च देखिनु चिन्ताको विषय बन्ने गरेको छ । खासगरी  यो तत्व प्रायः अण्डाशय (ओभरी) को क्यान्सरसँग जोडिने भएकाले। यद्यपि, सीए–१२५ को मात्रा बढ्नुको अर्थ सधैं क्यान्सर नै हुन्छ भन्ने होइन।

तर, खासमा बुझ्नु पर्ने कुरा के हो भने, इन्डोमेट्रिओसिस (Endometriosis), महिनावारी, गर्भावस्था र अण्डाशयमा पानीका फोका (Ovarian cysts) जस्ता क्यान्सररहित (Noncancerous) अवस्थाहरूले पनि सीए–१२५ को स्तर बढाउन सक्छन्।

सीए–१२५ एक ट्युमर मार्कर (Tumor marker) हो, जसको प्रयोग सामान्यतया अण्डाशयको क्यान्सरको मूल्याङ्कन गर्न र उपचारको प्रभावकारिता निगरानी गर्न गरिन्छ।

३५ युनिट प्रति मिलिलिटर (35 U/mL) भन्दा माथिको स्तरलाई सामान्यतया उच्च मानिए तापनि यसको वास्तविक अर्थ बिरामीको उमेर, लक्षण, महिनावारी सुकेको अवस्था (Menopausal status) र विगतको स्वास्थ्य इतिहास जस्ता विभिन्न पक्षहरूमा निर्भर गर्दछ।

सीए–१२५ के हो र यसको सामान्य दायरा (Normal Range) कति हो ?

सीए–१२५ (Cancer Antigen 125) रगतमा पाइने एक प्रकारको प्रोटिन हो, जसलाई साधारण रगत परीक्षणमार्फत मापन गर्न सकिन्छ।

चिकित्सकहरूले मुख्यतया महिला प्रजनन अङ्गका क्यान्सरहरू— विशेषगरी अण्डाशय (Ovarian), डिम्बवाहिनी नली (Fallopian tube) र पेटको भित्री झिल्ली (Primary peritoneal) को क्यान्सरको मूल्याङ्कन र निगरानी गर्न यसको प्रयोग गर्छन्।

सीए–१२५ को सामान्य दायरा प्रायः ३५ युनिट प्रति मिलिलिटर (35 U/mL) वा सोभन्दा कम हुन्छ। यो भन्दा माथिको नतिजालाई सामान्यतया उच्च मानिन्छ, यद्यपि प्रयोगशाला अनुसार यसको सन्दर्भ दायरा (Reference range) थोरै फरक पर्न सक्छ।

(नोट: यी केवल वर्णनात्मक दायरा मात्र हुन्, अलग-अलग रोग पहिचान गर्ने श्रेणी होइनन्। सीए–१२५ को मान उच्च हुँदैमा क्यान्सर भइसकेको छ वा जटिल अवस्थामा पुगेको छ भन्ने स्वतः प्रमाणित हुँदैन।)

विशेषगरी ‘इपिथेलियल ओभेरियन क्यान्सर’ (Epithelial ovarian cancer) पहिचान भइसकेका बिरामीहरूको निगरानीका लागि सीए–१२५ निकै उपयोगी हुन्छ।

समयक्रमसँगै यसको स्तरमा आउने परिवर्तनले उपचारले काम गरिरहेको छ वा क्यान्सर पुनः बल्झिएको छ भन्ने पत्ता लगाउन चिकित्सकलाई मद्दत गर्छ। तर, रिपोर्ट सामान्य आउँदैमा अण्डाशयको क्यान्सर छैन भनेर पूर्ण रूपमा ढुक्क हुन भने सकिँदैन, विशेषगरी रोगको प्रारम्भिक चरणमा।

सीए–१२५ को स्तर उच्च हुनुका कारणहरू के-के हुन् ?

शरीरका निश्चित तन्तुहरू सुन्निँदा, जलन हुँदा वा कुनै रोगले असर गर्दा सीए–१२५ को मात्रा बढ्न सक्छ। यो प्रोटिन अण्डाशयको क्यान्सरसँग सम्बन्धित भए पनि धेरैजसो उच्च नतिजाहरूमा क्यान्सरबाहेकका अन्य कारणहरू जिम्मेवार हुन्छन्।

क्यान्सररहित (Noncancerous) सामान्य कारणहरू:
• महिनावारी र गर्भावस्था
• इन्डोमेट्रिओसिस (Endometriosis)
• पाठेघरमा मासु पलाउने समस्या (Uterine fibroids)
• अण्डाशयमा हुने साधारण सिस्ट (Benign ovarian cysts)
• तल्लो पेटको संक्रमण (Pelvic inflammatory disease)
• कलेजोसम्बन्धी रोगहरू, विशेषगरी पेटमा पानी जम्ने अवस्थासहितको कलेजो सिरोसिस (Liver cirrhosis) (ओझान र सहकर्मीहरू, २०१४; गान्धी र सहकर्मीहरू, २०२४)

क्यान्सरजन्य कारणहरू:
केही निश्चित प्रकारका क्यान्सरहरूले पनि सीए–१२५ को स्तर बढाउन सक्छन्। यसमा अण्डाशय, डिम्बवाहिनी नली, पेटको भित्री झिल्ली (Primary peritoneal) र पाठेघरको भित्री तह (Endometrial) को क्यान्सर पर्दछन्।

कहिलेकाहीँ प्यान्क्रियाज (अग्न्याशय), फोक्सो, स्तन र ठूलो आन्द्राको क्यान्सरमा पनि यसको स्तर बढेको देखिन सक्छ, यद्यपि यी रोगहरू पत्ता लगाउन सीए–१२५ को प्रयोग गरिँदैन।

धेरै प्रकारका स्वास्थ्य अवस्थाहरूले सीए–१२५ लाई असर गर्ने भएकाले चिकित्सकहरूले सम्भावित कारण पत्ता लगाउनुअघि बिरामीको समग्र स्वास्थ्य अवस्था र अन्य परीक्षणका नतिजाहरूलाई समेत आधार मान्दछन्।

सीए–१२५ उच्च देखिनुको अर्थ क्यान्सर नै हो त ?

होइन। सीए–१२५ को स्तर उच्च देखिनुले व्यक्तिलाई क्यान्सर भएको छ भन्ने पुष्टि गर्दैन। यो परीक्षणले विभिन्न स्वास्थ्य अवस्थामा बढ्न सक्ने प्रोटिनको मात्र मापन गर्ने भएकाले यसले मात्र क्यान्सर र साधारण रोगबीचको भिन्नता छुट्याउन सक्दैन।

यद्यपि, यदि रगतमा सीए–१२५ उच्च देखिनुका साथै लगातार पेट फुल्ने (Bloating), तल्लो पेट दुख्ने, थोरै खाँदा पनि पेट भरिएको महसुस हुने वा छिटो-छिटो पिसाब लाग्ने जस्ता लक्षणहरू देखिएमा भने चिकित्सकले विशेष गम्भीरताका साथ हेर्छन्।

विशेषगरी महिनावारी सुकिसकेका महिलाहरूमा सीए–१२५ उच्च देखियो र भिडियो एक्स-रे (Imaging) मा अण्डाशयमा शंकास्पद गाँठो देखियो भने थप सतर्कता अपनाइन्छ।

अर्को महत्त्वपूर्ण कुरा के छ भने, अण्डाशयको क्यान्सर भएका कतिपय व्यक्तिहरूमा— विशेषगरी रोगको सुरुवाती चरणमा— सीए–१२५ को स्तर सामान्य नै देखिन सक्छ। यही कारणले गर्दा औसत जोखिममा रहेका व्यक्तिहरूमा अण्डाशयको क्यान्सर पत्ता लगाउन नियमित स्क्रिनिङ परीक्षण (Routine screening) को रूपमा सीए–१२५ जाँच गर्न सिफारिस गरिँदैन।

तसर्थ, सीए–१२५ को नतिजा रोग निदान प्रक्रियाको एउटा सानो हिस्सा मात्र हो। लक्षण वा शारीरिक जाँचले कुनै भित्री समस्याको संकेत गरेमा चिकित्सकले तल्लो पेटको अल्ट्रासाउन्ड (Pelvic ultrasound) र अन्य आवश्यक जाँचहरू गर्न लगाउँछन्।

सीए–१२५ को कति स्तरलाई खतरनाक मानिन्छ ?

यति नै स्तर खतरनाक हुन्छ वा यसले क्यान्सर प्रमाणित गर्छ भन्ने सीए–१२५ को कुनै निश्चित सीमा छैन। ३५ युनिट प्रति मिलिलिटर (35 U/mL) भन्दा माथिको मानलाई उच्च भनिए पनि यसको गम्भीरता बिरामीको लक्षण, उमेर र अन्य स्वास्थ्य परीक्षणका नतिजामा भर पर्छ।

विशेषगरी अण्डाशयमा गाँठो देखिएको अवस्थामा २०० युनिट प्रति मिलिलिटर (200 U/mL) भन्दा माथिको स्तरले चिन्ता बढाउन सक्छ।

५०० युनिट प्रति मिलिलिटर (500 U/mL) वा सोभन्दा अत्यधिक उच्च स्तर जटिल अवस्थाको अण्डाशयको क्यान्सरमा देखिन सक्छ, तर कतिपय क्यान्सररहित रोगहरूमा पनि यति धेरै मात्रा देखिने गर्छ।

त्यसैले सीए–१२५ को अंकले मात्र व्यक्तिलाई क्यान्सर छ कि छैन, कुन चरणमा छ वा बिरामीको भविष्य कस्तो हुन्छ भनेर निर्धारण गर्न सक्दैन।

अण्डाशयको क्यान्सर पहिचान भइसकेका बिरामीहरूमा चिकित्सकले समय-समयमा सीए–१२५ को स्तर निगरानी गर्छन्। उपचारको क्रममा यसको स्तर घट्दै जानुले उपचारले सकारात्मक काम गरिरहेको संकेत गर्छ भने निरन्तर बढ्दै गएमा थप जाँचको आवश्यकता पर्दछ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष सीए–१२५ कति उच्च छ भन्ने मात्र होइन, यो किन उच्च भयो भन्ने कारण पत्ता लगाउनु हो।

क्यान्सर नभए पनि सीए–१२५ उच्च हुन सक्छ ?
सक्छ। क्यान्सर नभएका व्यक्तिहरूमा पनि सीए–१२५ उच्च हुन सक्छ। वास्तवमा, महिला प्रजनन अङ्गका विभिन्न साधारण समस्या र शरीर सुन्निने अवस्थाहरूले यसको नतिजा उच्च देखाउन सक्छन्।

उदाहरणका लागि, इन्डोमेट्रिओसिसले तल्लो पेट क्षेत्रमा जलन गराउने भएकाले सीए–१२५ को मात्रा बढाउँछ। महिनावारी र गर्भावस्थाले पनि अस्थायी रूपमा रिपोर्टमा असर पार्न सक्छन्। पेट वा छातीमा पानी जम्ने अवस्थाहरू— जस्तै कलेजोको सिरोसिस र मुटु फेल हुने (Heart failure) कतिपय समस्याहरूमा सीए–१२५ को स्तर निकै उच्च हुन सक्छ।

कतिपय अवस्थामा भित्री स्वास्थ्य समस्या निको भएपछि सीए–१२५ को स्तर आफैं सामान्य अवस्थामा फर्किन्छ। अन्य अवस्थामा भने इन्डोमेट्रिओसिस जस्ता दीर्घकालीन समस्याका कारण यसको स्तर लामो समयसम्म उच्च रहिरहन सक्छ।

आवश्यकता अनुसार चिकित्सकले निश्चित समयको अन्तरालपछि पुनः यो परीक्षण दोहोर्‍याउन वा अन्य जाँच गर्न सल्लाह दिन सक्छन्। तसर्थ, सीए–१२५ निकै बढेको देखिए पनि क्यान्सर नभएको हुन सम्भव छ।

सीए–१२५ को स्तर उच्च देखिएमा के गर्ने ?

यदि तपाईंको रगत जाँचमा सीए–१२५ को स्तर उच्च देखिएको छ भने पहिलो कदम भनेको आफ्नो चिकित्सकसँग नतिजाबारे परामर्श गर्नु हो। आत्तिइहाल्नुपर्ने वा नराम्रो नतिजाको कल्पना गरिहाल्नुपर्ने आवश्यकता छैन, तर असामान्य रिपोर्टलाई बेवास्ता पनि गर्नु हुँदैन।

थप जाँच आवश्यक छ वा छैन भनी निर्णय गर्न चिकित्सकले तपाईंको विगतको स्वास्थ्य इतिहास, लक्षण, उमेर र महिनावारी सुकेको अवस्थाको समीक्षा गर्नुहुनेछ। अण्डाशयसम्बन्धी समस्याको लक्षण देखिएमा वा सीए–१२५ को नतिजा शंकास्पद लागेमा प्रायः तल्लो पेट वा पूरै पेटको अल्ट्रासाउन्ड (भिडियो एक्स-रे) गर्न सिफारिस गरिन्छ।

चिकित्सकीय ध्यान दिनुपर्ने प्रमुख लक्षणहरू:
• लगातार पेट फुल्ने वा भारी हुने
• तल्लो पेट वा पेट दुख्ने
• थोरै खाना खाँदैमा छिट्टै पेट भरिएको महसुस हुने
• छिटो-छिटो पिसाब लाग्ने
• बिनाकारण तौल घट्दै जाने
यस्तै, लगातार लक्षण देखिएका कम उमेरका बिरामीहरूमा सीए–१२५ उच्च नभए पनि अल्ट्रासाउन्ड गर्नु उपयुक्त हुन सक्छ।

यदि अल्ट्रासाउन्डमा कुनै शंकास्पद गाँठो देखिएमा चिकित्सकले थप मूल्याङ्कनका लागि स्त्रीरोग विशेषज्ञ (Gynecologist) वा स्त्रीरोग क्यान्सर विशेषज्ञ (Gynecologic oncologist) कहाँ पठाउन सक्नुहुन्छ। यदि भिडियो एक्स-रे सामान्य आयो भने अन्य सम्भावित कारणहरूको खोजी गरिन्छ, र लक्षणहरू कायमै रहेमा नियमित फलोअप आवश्यक पर्न सक्छ।

सीए–१२५ को स्तर जतिसुकै भए पनि अचानक पेट अत्यधिक दुख्ने, बेहोस हुने वा योनिबाट अत्यधिक रक्तस्राव हुने समस्या देखिएमा तत्काल आकस्मिक चिकित्सकीय उपचार लिनुपर्छ।

अन्ततः, सीए–१२५ को उच्च नतिजा भनेको चिकित्सकीय मूल्याङ्कनका लागि एउटा संकेत मात्र हो, क्यान्सरको अन्तिम निदान होइन।

समयमै उचित परामर्श र फलोअप गर्नाले यसको वास्तविक कारण पत्ता लगाउन र उपचार वा नियमित निगरानी के आवश्यक छ भन्ने निक्र्योल गर्न मद्दत पुग्छ।

#वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार समेत हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *