नेशनल मेडिकल कलेज प्रशासन र आवासीय चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

वीरगञ्ज, १० मंसिर । नेशनल मेडिकल कलेज वीरगञ्जमा लामो समय देखि जारी आवासीय चिकित्सकहरुको आन्दोलन अन्तत सहमतिमा टुंगिएको छ ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिवि चिकित्सा शास्त्र अध्ययन् संस्थान आईओएम, नेपाल मेडिकल काउन्सिलको रोहवरमा कलेज प्रशासन र आवासीय चिकित्सकबीच ६ बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको हो ।
कलेज प्रशासन र आवासीय चिकित्सकहरूबीच भएको सम्झौतामा आन्दोलनका क्रममा उठाइएका विभिन्न मागलाई सम्बोधन गर्दै आवासीय चिकित्सकहरूको हकहित, सेवा सुविधा तथा शैक्षिक सुरक्षासम्बन्धी महत्वपूर्ण सहमति गरिएको छ।
सम्झौताका मुख्य बुँदाहरू यसप्रकार छन् :
१. आवासीय चिकित्सकलाई कारबाही नगर्ने : असहमतिमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव, धम्की वा कलेज तथा छात्रावासबाट निष्कासन गरिने छैन।
२. हाजिरी व्यवस्थापनमा सहमति : विभागीय प्रमुख (HOD) ले पठाएको हाजिरी विवरण तथा पुष्टि अनुसार हाजिरी कायम गरिनेछ। २०८३/०८/१३ देखि कलेजमा हाजिरी सुरु गरिने र ड्युटी पूरा गरेपछि सम्बन्धित HOD ले पठाएको हाजिरी विवरणअनुसार TU IOM Dean कार्यालयसँग समन्वय गरी हाजिरी कायम गरिनेछ। बिदा स्वीकृतिका लागि विभागीय प्रमुख (HOD) र Program Coordinator दुवैको हस्ताक्षर पर्याप्त हुने सहमति भएको छ।
३. कटौती गरिएको स्टाइपेन्ड फिर्ता : असहमति अवधिसमेतको कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गरिनेछ। साथै, स्त्री तथा प्रसूति रोग विभागका ६ जना आवासीय चिकित्सकहरूको अनुपस्थिति तथा स्टाइपेन्डसम्बन्धी विषयमा बिनासर्त फिर्ताका लागि TU IOM मा पहल गरिनेछ।
४. ड्युटी समय र आरामको व्यवस्था : हप्तामा दुई दिनभन्दा बढी २४ घण्टे ड्युटी तोकिने छैन। ड्युटीपछिको आराम TU IOM को निर्णयअनुसार हुनेछ। सब-स्पेसियालिटी रोटेसन आवश्यक परेमा TU IOM को निर्णयअनुसार पेरिफेरल पोस्टिङ गरिनेछ।
५. परीक्षा तथा शैक्षिक प्रक्रियामा अवरोध नहुने : असहमतिमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई नियमित परीक्षामा सहभागी हुन अयोग्य ठहर गरिने छैन। शोधपत्र (Thesis) स्वीकृति तथा हस्ताक्षर प्रक्रियामा पनि कुनै अनावश्यक ढिलाइ गरिने छैन।
६. पुनः भर्नाको व्यवस्था : कलेजबाट राजीनामा दिएका तथा कलेजबाट Release Letter प्राप्त गरेका आवासीय चिकित्सकहरूलाई बिनासर्त पुनः कलेजमा भर्ना गरिने सहमति भएको छ।
सम्झौतामा उल्लेखित सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
लामो समयदेखि जारी विवाद र आन्दोलनपछि भएको यस सहमतिलाई आवासीय चिकित्सकहरूको हकहित, कार्य वातावरण तथा शैक्षिक भविष्य सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब सहमतिमा उल्लेखित बुँदाहरूको प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ।



विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 

