भारतमा ई–सिगरेट र भेप पूर्ण प्रतिबन्धित, उल्लङ्घन गरे तीन वर्षसम्म कैद र पाँच लाख भारुसम्म जरिवाना

0
Shares
मन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको चेतावनीमुलक सन्देश

नयाँ दिल्ली। विद्युतीय चुरोट (ई–सिगरेट) तथा भेपको प्रयोग, बिक्री र वितरणलाई निरुत्साहित गर्न भारत सरकारले कडा कानुनी व्यवस्था लागू गरेको छ।

सन् २०१९ देखि कार्यान्वयनमा रहेको कानुनअनुसार भारतमा ई–सिगरेटको उत्पादन, आयात, निर्यात, ढुवानी, बिक्री, वितरण, विज्ञापन तथा भण्डारणमा प्रतिबन्ध लगाइएको छ।

कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार तीन वर्षसम्म कैद र पाँच लाख भारतीय रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सामाजिक सञ्जालमा देश भित्रको विद्यमान कानुनी व्यवस्थाबारे आम नागरिकलाई सचेत बनाउँदै कानुन उल्लङ्घन नगर्न अनुरोध समेत गरेको छ ।

भारतले कहि ल्यायो यस्तो कानून ?

भारत सरकारले सन् २०१९ सेप्टेम्बर १८ मा ‘विद्युतीय चुरोट निषेधसम्बन्धी अध्यादेश, २०१९’ जारी गर्दै ई–सिगरेटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसपछि संसद्बाट विधेयक पारित भई ५ डिसेम्बर २०१९ मा ‘विद्युतीय चुरोट निषेध ऐन, २०१९’ का रूपमा कानुन बनेको थियो।

ऐनको व्यवस्थाअनुसार भने यो कानुनलाई १८ सेप्टेम्बर  २०१९ देखि नै लागू भएको मानिएको छ।

भारतको उक्त कानुनअनुसार पहिलो पटक कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

दोस्रो वा त्यसपछिको कसुरमा तीन वर्षसम्म कैद र पाँच लाख भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

त्यस्तै, प्रतिबन्धित ई–सिगरेटको अवैध भण्डारण गरेमा छ महिनासम्म कैद वा ५० हजार भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

यो कानुनले निकोटिनयुक्त मात्र नभई निकोटिनरहित पदार्थ प्रयोग गरी एरोसोल उत्पादन गर्ने विद्युतीय उपकरणलाई समेत समेटेको छ। यसमा विद्युतीय निकोटिन वितरण प्रणाली, ताप दिएर प्रयोग गरिने सुर्तीजन्य उत्पादन, विद्युतीय हुक्का तथा यस्तै प्रकृतिका उपकरणहरू समावेश छन्।

सार्वजनिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण निर्णय
भारतमा ई–सिगरेटमाथि लगाइएको प्रतिबन्धलाई सार्वजनिक स्वास्थ्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा गरिएको छ। यस विषयमा प्रतिष्ठित चिकित्सा जर्नल ‘द ल्यान्सेट पब्लिक हेल्थ’ मा सन् २०२० अगस्टमा ‘भारतमा ई–सिगरेट प्रतिबन्ध : सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण निर्णय’ शीर्षकको लेख प्रकाशित भएको थियो।

उक्त लेखमा भारत सरकारले ई–सिगरेटमाथि प्रतिबन्ध लगाउने निर्णयको पृष्ठभूमि र सार्वजनिक स्वास्थ्यसँग यसको सम्बन्धबारे चर्चा गरिएको छ। लेखले विशेषगरी युवापुस्तामा विद्युतीय निकोटिन वितरण प्रणालीको प्रयोग विस्तार हुन सक्ने जोखिम र निकोटिनको लतसम्बन्धी चिन्तालाई उजागर गरेको छ।

ई–सिगरेट तथा भेपमा प्रयोग हुने निकोटिनले लत सिर्जना गर्न सक्छ। विशेषगरी किशोरकिशोरी तथा युवापुस्तामा यसको प्रयोग बढ्नु सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय मानिएको छ। विभिन्न स्वाद, आकर्षक बनावट तथा आधुनिक उपकरणका कारण युवापुस्तामा यस्ता उत्पादनप्रति आकर्षण बढ्न सक्ने विषय पनि स्वास्थ्य क्षेत्रको चासोमा पर्दै आएको छ।

विश्वका ३१ देशमा ई–सिगरेट बिक्रीमा प्रतिबन्ध

ई–सिगरेट तथा भेपमाथि प्रतिबन्ध लगाउने भारत एक्लो देश भने होइन।

ग्लोबल सेन्टर फर गुड गभर्नेन्स इन टोबाको कन्ट्रोल (GGTC) को मे २०२५ को विवरण अनुसार विश्वका कम्तीमा ३१ देशमा सबै प्रकारका ई–सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

ती देशमा भारतसहित   ब्राजिल, अर्जेन्टिना, सिंगापुर, थाइल्यान्ड, श्रीलंका, भुटान, ब्रुनाई, कम्बोडिया, उत्तर कोरिया, इरान, इराक, लाओस, लेबनान, ओमान, कतार, प्यालेस्टाइन, पानामा, निकारागुआ, उरुग्वे, सुरिनाम, मौरिसस, इथियोपिया, गाम्बिया, सेसेल्स, युगान्डा, टिमोर–लेस्टे, टर्कमेनिस्तान, सिरिया र काबो भर्डे समावेश छन्।

यसका अतिरिक्त, केही देशले निकोटिनयुक्त ई–सिगरेटको बिक्रीमा मात्र प्रतिबन्ध लगाएका छन् भने केहीले निश्चित मापदण्ड र नियमनसहित बिक्री गर्न अनुमति दिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२५ मा सार्वजनिक गरिएको विश्वव्यापी सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी प्रतिवेदनअनुसार ई–सिगरेट तथा विद्युतीय निकोटिन वितरण प्रणालीलाई नियमन वा प्रतिबन्ध गर्ने देशको संख्या बढ्दै गएको छ। विभिन्न देशले यस्ता उत्पादनको प्रयोग र व्यापार नियन्त्रण गर्न कानुनी व्यवस्था कडा बनाउँदै लगेका छन्।

नेपालमा पनि भेप नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था तर कार्यान्वयनमा दोहोरोपना 

नेपालमा पनि विद्युतीय चुरोट तथा भेपको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न कानुनी व्यवस्था गरिएको छ। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ ले विद्युतीय चुरोटको उत्पादन, आयात, बिक्री तथा वितरणमा रोक लगाउने व्यवस्था गरेको छ।

तर  केही वर्ष अघि देखि अर्थ मन्त्रालयले भेपमा पनि करको दर निर्धारण गरिदिएपछि नेपालमा अवैध भनिएको भेपले बैधानिकता पाएको छ । अहिले शहर गाउँ जता जतै भेपको निर्वाध रुपमा प्रयोग भएको देखिएको छ ।

त्यसो त स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले निर्देशिकामा भएको कानूनी व्यवस्थालाई उल्लेख गर्दै प्रतिवन्ध गर्नु पर्ने भन्दै आएको छ । उसले जनस्वास्थ्यको कोणबाट आफ्नो दलिल पेश गरेको छ । तर अर्थ मन्त्रालय त्यसमा बाधक बनेको छ । स्वास्थ्य र अर्थको विरोधाभास कार्यकाबीच व्यवसायीलाई सहज भएको छ । उनीहरुले सर्बोच्च अदालतबाट समेत आफ्नो पक्षमा बलियो निर्णय गराएर निर्वाध रुपमा भेप कारोवार गर्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *