डब्लुएचओको क्षेत्रीय निर्देशक बन्न चार देशका उम्मेदवारबीच प्रतिस्पर्धा, नेपालबाट प्रतिस्पर्धामा छिन् डा. संगीता मिश्रा

0
Shares

काठमाडौं, १० मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल, श्रीलंका, माल्दिभ्स र भुटानले आ–आफ्ना उम्मेदवार अघि सारेका छन्।

डब्लुएचओले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा नेपालबाट डा. संगीता कौशल मिश्रा, श्रीलंकाबाट डा. अनिल जयसिंघे, माल्दिभ्सबाट डा. अहमद जम्शीद मोहम्मद र भुटानबाट साङ्गे नेग्दुप रहेका छन्।

यसपटक नेपालको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिवका रूपमा कार्यरत थिइन्। उनी दुई महिना अघि देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा सरुवा भएकी छन्।

अघिल्लो पटक पनि थियो नेपालको उम्मेदवारी

त्यसो त नेपालले यसअघि सन् २०२३ मा पनि डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा उम्मेदवारी दिएको थियो। त्यसबेला नेपालका तर्फबाट वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भूप्रसाद आचार्य प्रतिस्पर्धामा थिए। तर, बंगलादेशकी उम्मेदवार साइमा बाजेदसँग उनी भारी मतान्तरले पराजित भएका थिए। निर्वाचनमा बाजेदले १० मध्ये आठ मत प्राप्त गर्दा आचार्यले दुई मत मात्रै पाएका थिए। उक्त परिणाम नेपालको कूटनीतिक पहल र अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्षमतामाथि पनि प्रश्न उठेको थियो।

यसपटक पनि नेपालले प्रशासनिक तथा जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएकी डा मिश्रा अघि सारेको छ। बालेन नेतृत्वको सरकारले उनको पक्षमा क्षेत्रीय सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक पहल गर्न थालेको बताइएको छ । पछिल्लो पटक भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले समेत उनका समकक्षी नरेन्द्र मोदीसंग यस विषयमा कुरा उठाएको बताइएको छ ।

तर भारतको समर्थन कता तर्फ ढल्किएको छ भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । यस पटकको निर्वाचनमा पनि भारतको समर्थन हुने देशले निर्वाचित हुने निश्चित जस्तै भएको छ ।

कुन उम्मेदवार कस्ता ?

डा. संगीता कौशल मिश्रा – नेपाल

नेपालकी उम्मेदवार डा। संगीता कौशल मिश्रा चिकित्सक तथा जनस्वास्थ्य प्रशासक हुन्। उनले भारतको राजेन्द्र मेडिकल कलेजबाट एमबीबीएस, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रसूति तथा स्त्रीरोगमा एमडी र अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर ९एमपीएच० गरेकी छन्।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा काम गर्नुका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। स्वास्थ्य नीति तथा योजना, अन्तर्राष्ट्रिय स्वास्थ्य समन्वय, स्वास्थ्य सेवा नियमन, जनसंख्या व्यवस्थापन र आपत्कालीन स्वास्थ्य व्यवस्थापन उनका कार्यक्षेत्र हुन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा उनले राष्ट्रिय स्वास्थ्य कार्यक्रम, रोग नियन्त्रण र स्वास्थ्य आपत्कालीन व्यवस्थापनको नेतृत्व गरेकी थिइन्।

उनको अनुभवमा नेपालका स्वास्थ्य क्षेत्रका रणनीतिक योजना निर्माण, मातृ मृत्युदर अध्ययन, अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्य र ग्लोबल फन्डलगायतका साझेदारसँगको समन्वय पनि समेटिएको छ।

डा. अनिल जयसिंघे – श्रीलंका

श्रीलंकाले स्वास्थ्य तथा आमसञ्चार मन्त्रालयका सचिव डा। अनिल जयसिंघेलाई उम्मेदवार बनाएको छ। उनी श्रीलंकाको स्वास्थ्य प्रशासनमा लामो अनुभव भएका चिकित्सक तथा प्रशासक हुन्।

उनले कोलम्बो विश्वविद्यालयबाट सामुदायिक चिकित्सामा एमएस्सी तथा मेडिकल एडमिनिस्ट्रेसनमा एमडी गरेका छन्। साथै श्री जयवर्धनेपुरा विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।

उनले श्रीलंकाको स्वास्थ्य सेवा महानिर्देशक, राष्ट्रिय अस्पतालका निर्देशक र वातावरण मन्त्रालयका सचिवलगायतका जिम्मेवारी सम्हालिसकेका छन्। स्वास्थ्य सेवा व्यवस्थापन, अस्पताल प्रशासन, सार्वजनिक स्वास्थ्य नीति तथा कोभिड–१९ महामारीको प्रारम्भिक व्यवस्थापनमा उनको अनुभव रहेको छ। उनी डब्लुएचओको कार्यकारी बोर्डको उपाध्यक्षसमेत भइसकेका छन्।

डा. अहमद जम्शीद मोहम्मद – माल्दिभ्स

माल्दिभ्सले पूर्वस्वास्थ्यमन्त्री डा। अहमद जम्शीद मोहम्मदलाई उम्मेदवार बनाएको छ। उनी हाल बंगलादेशका लागि डब्लुएचओ प्रतिनिधिका रूपमा कार्यरत छन्।

तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्र र अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा काम गरेको अनुभव उनीसँग छ। उनले सन् २०१२ देखि २०१३ सम्म माल्दिभ्सको स्वास्थ्यमन्त्रीका रूपमा काम गरेका थिए। त्यसअघि उनी सेन्टर फर कम्युनिटी हेल्थ एन्ड डिजिज कन्ट्रोलका महानिर्देशक थिए।

डब्लुएचओमा १२ वर्षभन्दा बढी काम गरेका उनले उत्तर कोरियाका लागि डब्लुएचओ प्रतिनिधि, बंगलादेशका लागि उपप्रतिनिधि तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयमा क्षेत्रीय सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन्। उनले भारतको इन्दिरा गान्धी सरकारी मेडिकल कलेजबाट एमबीबीएस र बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेका छन्।

साङ्गे नेग्दुप – भुटान

भुटानले पूर्वप्रधानमन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री साङ्गे नेग्दुपलाई उम्मेदवार बनाएको छ। उनी भुटानको राजनीतिमा लामो अनुभव भएका नेता हुन्। उनले सन् १९९९–२००० र २००५–२००६ मा गरी दुईपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए।

उनले कृषि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्। सार्वजनिक प्रशासन, स्वास्थ्य, कृषि, राष्ट्रिय योजना र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उनको अनुभव रहेको छ। भुटानको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई सन् २०१५ मा डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रबाट जनस्वास्थ्य नेतृत्वसम्बन्धी पुरस्कार प्रदान गरिएको थियो। उनले भुटानको स्वास्थ्य कोष स्थापनामा नेतृत्वदायी भूमिका खेलेका थिए।

निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ ?
डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक चयन प्रक्रिया यसपटक नयाँ व्यवस्थाअनुसार अघि बढिरहेको छ। उम्मेदवारको नाम मनोनयनपछि उनीहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र जनस्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरिनेछ।

डब्लुएचओको व्यवस्थाअनुसार उम्मेदवारहरूको मूल्याङ्कनका लागि स्वतन्त्र विज्ञहरूको समूह गठन गरिएको छ। उक्त समूहले उम्मेदवारको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, व्यवस्थापकीय क्षमता, जनस्वास्थ्य नेतृत्व र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा योगदानको अध्ययन गर्नेछ। मूल्याङ्कनपछि बढीमा तीन जना उम्मेदवारको नाम समेटिएको संक्षिप्त सूची क्षेत्रीय समितिसमक्ष प्रस्तुत गरिने व्यवस्था छ।

त्यसपछि डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको विशेष बैठकले गोप्य मतदानमार्फत क्षेत्रीय निर्देशकका लागि उम्मेदवार मनोनयन गर्नेछ। क्षेत्रीय समितिको सिफारिसपछि डब्लुएचओको कार्यकारी बोर्डले अन्तिम नियुक्ति गर्नेछ।

डब्लुएचओको कार्यतालिकाअनुसार आगामी जनवरी २३, २०२७ मा जेनेभामा क्षेत्रीय समितिको विशेष बैठक आयोजना हुनेछ। उक्त बैठकबाट क्षेत्रीय निर्देशकका लागि मनोनयन गरिनेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २, २०२७ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ बैठकले क्षेत्रीय निर्देशक नियुक्त गर्ने अपेक्षा गरिएको छ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, उत्तर कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेसहित १० सदस्य राष्ट्र छन्। त्यसमध्ये म्यानमार भने यस निर्वाचनमा सहभागी हुन पाउने छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *