‘उपचार लागेको प्रत्यक्ष खर्च मात्रै होइन, अप्रत्यक्ष खर्च र समयको मूल्य पनि हेर्नुपर्छ’
प्राडा रामनन्दनप्रसाद चौधरी नेपालको चिकित्सा सेवाका क्षेत्रमा डा आरपी चौधरीको नामबाट चिनिन्छन् । बाल शल्य चिकित्सकको रुपमा लामो समय सरकारी सेवामा विताएका डा चौधरीले पछिल्लो समय ईशान बाल तथा महिला अस्पतालको नेतृत्व गर्दै आएका छन् । नेपालकै पहिलो निजी बाल अस्पतालको रुपमा परिचित ईशानमा के कस्ता सेवा र सुविधा थपिएका छन् ? यिनै विषयमा केन्द्रीत रहेर अस्पतालका कार्यकारी निर्देशक प्राडा चौधरीसंग आजको कुराकानी सुरु गरेका छौँ । प्रस्तुत छ कुराकानीको सार संक्षेप :

ईशान बाल तथा महिला अस्पतालले सेवा दिन थालेको ३२ वर्ष लागिसक्यो, यो अवधिमा अस्पतालले हासिल गरेका उपलब्धि र पछिल्लो समय थपिएका नयाँ सेवाबारे सरसर्ती बताईदिनुहोस न ?
पक्कै पनि ! हाम्रो अस्पताल सन् २०५२ (वि.सं.) मा स्थापना भएको नेपालको पहिलो गैरसरकारी बाल अस्पताल हो। तीन दशकभन्दा लामो यात्रामा हामीले बिरामी तथा अभिभावकको विश्वास आर्जन गरेका छौँ। यो विश्वासलाई कायम राख्दै अझ गुणस्तरीय सेवा प्रदान गर्नु अहिले हाम्रो प्रमुख चुनौती र प्राथमिकता दुवै हो।
हाम्रो अस्पतालको मूल उद्देश्य ‘Quality Services at Affordable Price’ अर्थात् सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो। त्यसैले हामी सेवा विस्तारसँगै उपचारको गुणस्तर र मूल्यलाई पनि उत्तिकै प्राथमिकतामा राखिरहेका छौँ।
अहिले हामी विशेषगरी बालबालिका तथा महिलासम्बन्धी विशेषज्ञ र Super-specialty सेवामा केन्द्रित छौँ। यसै क्रममा हामीले Prenatal Counselling लाई विशेष प्राथमिकतामा राखेका छौँ।
गर्भावस्थाको करिब २०औँ हप्तामा गरिने Ultrasound बाट बच्चामा मुटु, मिर्गौला, पिसाबथैली, आन्द्रा, टाउकोमा पानी जम्ने लगायतका विभिन्न जन्मजात समस्या पत्ता लाग्न सक्छन्। यस्तो अवस्थामा अभिभावकमा बच्चा जन्मिएपछि बाँच्न सक्छ कि सक्दैन, उपचार वा शल्यक्रिया सम्भव छ कि छैन भन्ने अनेकौँ जिज्ञासा र चिन्ता हुन्छन्।
हामी त्यस्ता अभिभावकलाई Prenatal Counselling मार्फत समस्याबारे विस्तृत जानकारी दिन्छौँ। कुन समस्याको उपचार सम्भव छ, जन्मिएपछि कस्तो शल्यक्रिया गर्नुपर्छ र त्यसको परिणाम कस्तो हुन सक्छ भन्ने विषयमा परामर्श दिन्छौँ।
कतिपय अवस्थामा गर्भावस्थालाई निरन्तरता दिनु आमाको स्वास्थ्य वा बच्चाको अवस्थाका दृष्टिले उपयुक्त नहुन सक्छ। त्यस्तो अवस्थामा कानुनी तथा चिकित्सकीय मापदण्डअनुसार Medical Termination of Pregnancy (MTP) सम्बन्धी परामर्श पनि प्रदान गर्छौँ।
तर धेरै जन्मजात समस्याको उपचार शल्यक्रियाबाट सम्भव छ। म आफैँले बाल शल्यचिकित्सा क्षेत्रमा ३२ वर्ष काम गर्ने क्रममा जटिल समस्या भएका धेरै बच्चाको सफल शल्यक्रिया गरेको छु। त्यतिबेला उपचार गराएका कतिपय बच्चा अहिले डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य पेसामा स्थापित भइसकेका छन्।
यस्ता सफल उदाहरणले अहिले गर्भमा बच्चामा समस्या देखिएका अभिभावकलाई सकारात्मक निर्णय लिन सहयोग गर्छन्। आमाको गर्भावस्थादेखि बच्चाको जन्म र त्यसपछिको उपचारसम्म एउटै संस्थाबाट सेवा दिन सक्नु हाम्रो विशेषता हो।
अस्पतालको नारा ‘Quality Service at Affordable Price’ छ। निजी अस्पतालको सेवा भन्नेबित्तिकै महँगो हुन्छ भन्ने आमधारणा पनि छ। त्यसमा बेला बेलामा ईशानको पनि नाम आउँछ ? खास कुरा के हो ? उपचार सेवा कत्तिको सुलभ छ ?
यो एकदमै सान्दर्भिक प्रश्न हो। Affordable भन्ने कुरा सापेक्ष हुन्छ। कसैका लागि हजार रुपैयाँ सामान्य खर्च हुन सक्छ भने कसैका लागि त्यही रकम ठूलो हुन सक्छ।
हामी निजी अस्पताल भएकाले सञ्चालन खर्च, जनशक्ति, उपकरण र अन्य व्यवस्थापकीय खर्च स्वाभाविक रूपमा हुन्छन्। हाम्रो अस्पतालमा करिब ३०० कर्मचारी कार्यरत छन् भने लगभग ९५ जना Consultant हुनुहुन्छ।
तर उपचार खर्चको तुलना गर्दा हामी नेपालको निजी स्वास्थ्य क्षेत्रसँगै भारतको उपचार खर्चलाई पनि आधार मान्छौँ। विशेषगरी बाल शल्यचिकित्सा, नवजात शिशुको शल्यक्रिया, Pediatric Urology, मिर्गौला तथा क्यान्सरसम्बन्धी उपचारका लागि धेरै नेपाली भारत जाने गरेका छन्।
भारतमा कुनै उपचारका लागि १० लाख भारतीय रुपैयाँ खर्च हुने अवस्थामा नेपालमै त्यस्तै उपचार दुईदेखि तीन लाख नेपाली रुपैयाँमा गर्न सकिने अवस्था छ। यसमा उपचार खर्च मात्रै होइन, भारत जाँदा लाग्ने यात्रा, बसाइ, खानपान र फलोअपको खर्च पनि जोड्नुपर्छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको उपचारमा लाग्ने समय हो। उदाहरणका लागि, दिसा गर्ने प्राकृतिक प्वाल नभएको बच्चाको उपचारमा आवश्यक तीनवटा शल्यक्रिया तीन महिनाभित्र पूरा गरेर बच्चालाई स्वस्थ बनाउन सकिन्छ। तर अन्य अस्पतालमा यही उपचारका लागि डेढदेखि दुई वर्षसम्म कुर्नुपर्ने अवस्था आउन सक्छ।
त्यस अवधिमा अभिभावकले पटकपटक काठमाडौं आउनुपर्ने, बस्नुपर्ने र बच्चाको हेरचाहमा समय तथा पैसा खर्च गर्नुपर्ने हुन्छ। कतिपय अभिभावकले उपचारका लागि पटकपटक काठमाडौं आउँदा ५०–६० हजार रुपैयाँ खर्च भइसकेको बताउनुहुन्छ, जबकि त्यही शल्यक्रिया हाम्रोमा करिब ५० हजार रुपैयाँमा सम्भव हुन सक्छ।
त्यसैले उपचारको प्रत्यक्ष खर्च मात्रै होइन, अप्रत्यक्ष खर्च र समयको मूल्य पनि हेर्नुपर्छ। समयमै गुणस्तरीय उपचार पाउँदा बच्चाको स्वास्थ्यमा राम्रो परिणाम आउँछ र अभिभावकको आर्थिक तथा मानसिक बोझ पनि कम हुन्छ।
हामी कतिपय ठूला निजी अस्पतालभन्दा सुलभ मूल्यमा सेवा दिइरहेका छौँ। हाम्रो अर्को विशेषता भनेको सुरुमा एउटा शुल्क देखाएर पछि विभिन्न शीर्षकमा थप शुल्क जोड्ने प्रवृत्ति नअपनाउनु हो। शल्यक्रियाको शुल्क केही बढी हुन सक्छ, तर अनावश्यक अतिरिक्त शुल्क थपेर बिरामीलाई आर्थिक भार पार्ने हाम्रो नीति छैन।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दक्ष जनशक्तिसँगै आधुनिक उपकरण पनि उत्तिकै आवश्यक हुन्छन्। अस्पतालले पछिल्लो समय कस्ता उपकरण र प्रविधि भित्र्याएको छ ?
गुणस्तरीय उपचारका लागि दक्ष जनशक्ति र आधुनिक उपकरण दुवै आवश्यक छन्। अहिले हामीले विशेषगरी Minimally Invasive Surgery अर्थात् शरीरमा ठूलो चिरा नलगाई सानो प्वालबाट गरिने शल्यक्रियालाई प्राथमिकता दिएका छौँ।
हामीसँग Laparoscopy, Thoracoscopy, Cystoscopy र Endoscopy लगायतका प्रविधि तथा उपकरण उपलब्ध छन्। यसबाट पेट वा छातीमा ठूलो चिरा नलगाई आवश्यक शल्यक्रिया गर्न सकिन्छ।
उदाहरणका लागि, नवजात शिशुको पिसाब नलीमा जन्मजात रूपमा पर्दा बनेको समस्या भए पहिले पिसाबथैलीबाट छुट्टै प्वाल बनाएर उपचार गर्नुपर्ने अवस्था थियो। अहिले हामी जन्मिएको एकदेखि दुई दिनभित्रै Cystoscopy मार्फत पिसाब नलीमा उपकरण प्रवेश गराएर त्यो पर्दा काट्न सक्छौँ। यसरी उपचार गरिएका बच्चा तीनदेखि चार दिनमै अस्पतालबाट डिस्चार्ज हुन सक्छन्।
त्यस्तै, हामीले हालै आधुनिक र बालमैत्री CT Scan उपकरण भित्र्याएका छौँ। CT Scan गर्दा बालबालिकालाई बन्द ठाउँमा बस्नुपर्दा डर लाग्न सक्छ। त्यसैले बच्चालाई सहज महसुस हुने गरी प्रविधि र वातावरणलाई बालमैत्री बनाउने प्रयास गरेका छौँ।
हाम्रो आफ्नै B Category Laboratory पनि छ। कतिपय अस्पतालले प्रयोगशाला सेवा बाहिरबाट गराउने गरेका हुन्छन्। आफ्नै प्रयोगशाला हुँदा परीक्षणको गुणस्तर र समय व्यवस्थापनमा सहजता हुन्छ।
म आफैँ पनि नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र तालिममा सहभागी हुन्छु। हालै लखनउमा आयोजित Pediatric Urology Conference मा Guest Lecture दिने अवसर पाएको थिएँ। यस्ता कार्यक्रमबाट नयाँ प्रविधि, उपचार पद्धति र शल्यक्रियाका आधुनिक तरिका सिकेर अस्पतालमा प्रयोग गर्न सकिन्छ। नयाँ प्रविधि र सीपलाई समयमै अपनाउन सकियो भने उपचारको नतिजा पनि राम्रो हुन्छ।
निजी क्षेत्रबाट खुलेको देशकै पहिलो बाल अस्पतालको रुपमा परिचित यस अस्पतालले पछिल्लो समय महिलाको उपचार सेवालाई थपेको छ । नाम पनि ईशान बाल बाट बदलेर ईशान बाल तथा महिला अस्पताल भनेको छ, बाल तथा महिलाको उपचार सेवालाई कसरी व्यवस्थित गर्नुभएको छ ?
हाम्रो अस्पतालको महत्त्वपूर्ण विशेषता नै Multidisciplinary र Holistic Care हो। आमाको गर्भावस्थादेखि बच्चाको जन्म, नवजात शिशुको उपचार र आवश्यक शल्यक्रियासम्म एउटै अस्पतालमा सेवा उपलब्ध गराउने हाम्रो प्रयास छ।
गर्भावस्थामा बच्चामा कुनै समस्या देखिएमा आमाबुबालाई परामर्श दिन्छौँ। आवश्यक परे यहीँ डेलिभरी गराउन सकिन्छ र बच्चालाई जन्मिएलगत्तै उपचार पनि सुरु गर्न सकिन्छ।
यसको अर्को फाइदा के हो भने आमा र बच्चा एउटै अस्पतालमा रहन पाउँछन्। आमाको एउटा अस्पतालमा शल्यक्रिया भएर बस्नुपर्ने र नवजात शिशुलाई उपचारका लागि अर्को अस्पतालमा लैजानुपर्ने अवस्था आउँदा अभिभावकलाई निकै कठिन हुन्छ। हाम्रो सेवाले यस्तो समस्या कम गर्छ।
बालबालिकाको उपचार उमेर र अवस्थाअनुसार फरक हुन्छ। नवजात शिशु, एक वर्षमुनिका Infants, Toddlers र Adolescents सबैको उपचार आवश्यकता फरक हुन्छ। विशेषगरी १८ देखि २२ वर्षसम्मका किशोरकिशोरी तथा युवाको उपचारलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
बालबालिका भनेका वयस्कको सानो रूप मात्रै होइनन्। उनीहरूको शरीर, रोगको प्रकृति र उपचार पद्धति फरक हुन्छ। त्यसैले बालबालिकाको उपचार बालरोग विशेषज्ञ र बाल शल्यचिकित्सकबाटै हुनु आवश्यक छ।
बाल उपचारका लागि के कस्ता विभागहरु छन् ? कसरी मिलाउनु भएको छ ?
हामीकहाँ बालबालिकाका लागि करिब १० वटा विशेषज्ञ सेवा उपलब्ध छन्। तीमध्ये Pediatric Oncology, Hematology, Gastroenterology, Cardiology, Nephrology, Neurology, Pediatric Urology, Developmental तथा Psychiatric सेवा र Pulmonology प्रमुख छन्।
बालबालिकामा शारीरिक समस्यासँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढिरहेका छन्। तर कतिपय अभिभावकले बच्चामा मानसिक समस्या हुन सक्छ भन्ने कुरा सहज रूपमा स्वीकार गर्न सक्नुहुन्न। त्यसैले बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि हामीले उपचारको महत्त्वपूर्ण पाटोका रूपमा लिएका छौँ।
कहिलेकाँही जटिल अवस्थामा रहेका नवजात शिशुलाई तत्काल उपचार र विशेष निगरानी आवश्यक पर्छ। त्यस्ता अवस्थाका लागि अस्पताल कति सक्षम छ ?
नवजात शिशुको उपचारमा समय निकै महत्त्वपूर्ण हुन्छ। विशेषगरी समय नपुगी जन्मिएका बच्चालाई तत्काल Neonatal Intensive Care र Ventilator को आवश्यकता पर्न सक्छ।
केही समयअघि काठमाडौंकै एउटा अस्पतालबाट २६ हप्तामा जुम्ल्याहा बच्चाको आकस्मिक डेलिभरी गर्नुपर्ने अवस्था आएको भन्दै हामीलाई सम्पर्क गरिएको थियो। उनीहरूलाई जन्मिएपछि Ventilator आवश्यक पर्न सक्ने भएकाले हाम्रो अस्पतालमा त्यस्तो सुविधा छ कि छैन भनेर सोधिएको थियो।
हामीकहाँ आवश्यक सुविधा उपलब्ध भएकाले बच्चालाई ल्याउन आग्रह गर्यौँ। त्यसपछि दुवै बच्चाको शल्यक्रियामार्फत जन्म गराइयो र उनीहरूलाई Ventilator मा राखेर उपचार सुरु गरियो।
यस्ता जटिल अवस्थालाई सम्बोधन गर्न हामीले आवश्यक उपकरण र विशेषज्ञ जनशक्ति तयारी अवस्थामा राखेका छौँ।
हाम्रो Emergency Service मा २४ सै घण्टा योग्य Pediatrician उपलब्ध हुनु अर्को महत्त्वपूर्ण विशेषता हो। सामान्य Medical Officer र विशेषज्ञ बालरोग चिकित्सकबाट प्रदान गरिने सेवामा गुणस्तरको दृष्टिले फरक पर्छ।
त्यस्तै, हाम्रो OPD सेवा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म वर्षका ३६५ दिन सञ्चालन हुन्छ। शनिबार, दशैँ, तिहार तथा अन्य सार्वजनिक बिदामा पनि विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध हुन्छ।
CT Scan लगायतका आवश्यक जाँच पनि बिरामीको अवस्थाअनुसार उपलब्ध गराउने व्यवस्था छ। हामीले समयमै उपचार पाउने कुरालाई विशेष प्राथमिकता दिएका छौँ।
विशेषगरी संक्रमण, आन्द्रामा प्वाल पर्ने समस्या वा Pediatric Urology सम्बन्धी जटिल संक्रमणमा केही घण्टाको ढिलाइले पनि बिरामीको जीवनमा गम्भीर असर पार्न सक्छ। त्यसैले समयमै रोग पहिचान र उपचार गर्नु अत्यन्त आवश्यक हुन्छ।
बालबालिकाको उपचारको महत्त्व अर्को कारणले पनि विशेष छ। आज हामीले एउटा बच्चाको जीवन बचायौँ भने उसले आगामी सय वर्षसम्म स्वस्थ जीवन बाँच्ने सम्भावना हुन्छ। त्यसैले हामी एउटा व्यक्तिको मात्रै होइन, भविष्यको स्वस्थ नागरिक निर्माणमा पनि योगदान गरिरहेका हुन्छौँ।
अस्पतालले ३२ वर्षको यात्रा पूरा गर्दै गर्दा आगामी दिनका योजना र प्राथमिकता के–के छन्? नयाँ सेवा तथा प्रविधि थप्ने तयारी पनि छ कि ?
यस वर्ष हाम्रो प्रमुख प्राथमिकता Hospitality हो। हामी अस्पतालमा आउने हरेक बिरामी र अभिभावकले आफूलाई स्वागत गरिएको, सम्मान गरिएको र राम्रोसँग हेरचाह गरिएको महसुस गरून् भन्ने चाहन्छौँ।
होटलमा मानिस मनोरञ्जन र आरामका लागि जान्छन् भने अस्पतालमा मानिस स्वास्थ्य समस्या र चिन्ता लिएर आउँछन्। त्यसैले अस्पतालको सेवा अझ बढी संवेदनशील, आत्मीय र बिरामीमैत्री हुनुपर्छ। बिरामी अस्पतालमा प्रवेश गरेदेखि उपचार पूरा भएर घर फर्किंदासम्म राम्रो अनुभव प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।
अर्को प्राथमिकता भनेको गुणस्तरीय सेवालाई अझ सुधार गर्नु हो। यसका लागि दक्ष तथा तालिमप्राप्त जनशक्ति, आधुनिक उपकरण र नयाँ उपचार प्रविधिमा लगानी गर्नुपर्ने हुन्छ।
अहिले स्वास्थ्य क्षेत्रमा दक्ष नर्सिङ जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको छ। विशेषगरी PCL Nursing कार्यक्रम बन्द भएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ। अस्पताललाई आवश्यक दक्ष नर्सिङ जनशक्ति उपलब्ध गराउन कठिन भइरहेको छ। यस्तो अवस्थामा जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर कायम राख्नु हाम्रो अर्को चुनौती हो।
प्रविधिको क्षेत्रमा पनि हामीले नयाँ योजना बनाएका छौँ। विशेषगरी Pediatric Urology अन्तर्गत मिर्गौलाको पत्थरीको उपचारलाई अझ आधुनिक र सहज बनाउने तयारी छ। शरीरमा ठूलो चिरा नलगाई सानो प्वाल वा Endoscopic प्रविधिबाट मिर्गौलाको पत्थरी निकाल्न सकिने प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ।
Robotic Surgery पनि अहिले आधुनिक शल्यक्रियाको महत्त्वपूर्ण प्रविधि बनेको छ। नेपालका केही अस्पतालमा वयस्कको उपचारका लागि यो प्रविधि भित्रिसकेको छ। तर नवजात शिशु तथा बालबालिकाको उपचारमा यसको प्रयोग अझै सीमित छ। त्यसैले यसको उपयोगिता र आवश्यकता अध्ययन गरेर मात्रै लगानी गर्ने हाम्रो सोच छ।
समग्रमा, आगामी दिनमा पनि हामीले गुणस्तरीय सेवा, सुलभ मूल्य, आधुनिक प्रविधि र आत्मीय व्यवहारलाई प्राथमिकता दिनेछौँ। ३२ वर्षदेखि बिरामी तथा अभिभावकले गर्नुभएको विश्वासलाई कायम राख्दै ईशानलाई अझ उत्कृष्ट बाल तथा महिला स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो।
अन्त्यमा, अस्पतालको ३२औँ वार्षिकोत्सवका अवसरमा सेवाग्राही र आम नागरिकलाई केही भन्न चाहनुहुन्छ?
विगत तीन दशकदेखि हामीप्रति विश्वास र भरोसा राख्नुहुने सम्पूर्ण सेवाग्राही, अभिभावक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हामीले अहिलेसम्म हासिल गरेका उपलब्धिलाई मात्रै पर्याप्त मानेका छैनौँ। अझै धेरै सुधार गर्नुपर्ने ठाउँ छन्। त्यसैले आगामी दिनमा पनि सेवाको गुणस्तर, विशेषज्ञ उपचार, आधुनिक प्रविधि र Hospitality लाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
ईशान बाल तथा महिला अस्पताललाई विश्वास गर्नुभएकोमा सबैप्रति धन्यवाद।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


