प्रतिजैविक प्रतिरोध रोक्न औषधि व्यवस्था विभागको आग्रह, आजदेखि सचेतना सप्ताह

12
Shares

काठमाडौं, २ मंसिर । प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगबाट बढ्दै गएको प्रतिजैविक प्रतिरोध (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ।

विभागले आजबाट सुरु भएको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा यस्तो आग्रह गरेको हो।

नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियान स् प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ।

विभागका महानिर्देशक भरत भट्टराईद्धारा जारी विज्ञप्तीमा मानव स्वास्थ्य, पशुपन्छी, वातावरण तथा खाद्य प्रणालीलाई एकीकृत रूपमा जोड्दै प्रतिजैविक प्रतिरोधविरुद्ध सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको उल्लेख छ । यस्तै प्रतिजैविक औषधिको अनुचित तथा अत्यधिक प्रयोग र दुरुपयोगका कारण सूक्ष्मजीवहरूमा औषधिविरुद्ध प्रतिरोधात्मक क्षमता तीव्र रूपमा बढ्दै गएको र यसको परिणामस्वरूप सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्दै गएको बताइएको छ ।

यसैगरी मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा तथा वातावरणमा समेत गम्भीर असर पारिरहेको उल्लेख छ ।

महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि औषधिको सही प्रयोग र सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

‘प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई जनस्वास्थ्यको साझा र गम्भीर चुनौती हो। चिकित्सकीय सिफारिसबिना प्रतिजैविक औषधि बिक्री वितरण नगर्न र सेवाग्राहीलाई यसको सही प्रयोगबारे परामर्श दिन आवश्यक छ,’ भट्टराईले भनेका छन्।

उनले प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सरसफाइ, स्वच्छ खानेपानीको प्रवर्द्धन र प्रभावकारी निगरानी प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

विभागले प्रतिजैविक प्रतिरोध रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राख्दै औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको नियमन गर्दै आएको जनाएको छ। प्रतिजैविक औषधिको खपतसम्बन्धी तथ्याङ्क सङ्कलन, विवेकपूर्ण प्रयोगको प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिवेदन गर्ने कार्यसमेत भइरहेको विभागले जनाएको छ।

त्यसैगरी, चिकित्सकको सिफारिसबिना प्रतिजैविक औषधि बिक्री वितरण नगर्ने व्यवस्था कार्यान्वयन तथा रिजर्भ समूहका प्रतिजैविक औषधि अस्पताल फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने प्रणालीलाई प्रभावकारी बनाउन विभाग क्रियाशील रहेको महानिर्देशक भट्टराईले बताएका छन्।

विशेषगरी चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, निर्धारित मात्रा र तोकिएको अवधिसम्म मात्र औषधि प्रयोग गर्न तथा स्वास्थ्यकर्मीको सल्लाह पालना गर्न विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागले सप्ताहका अवसरमा सरोकारवाला निकाय, विज्ञ, संघसंस्था, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा पेशागत संघसंस्थालाई सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *