क्यानडामा हान्ताभाइरस संक्रमण पुष्टि, तीन जनाको मृत्यु

ओटावा, ४ जेठ । क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन् ।
पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट सङ्कलन गरिएका नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशाला परीक्षणपछि एक व्यक्तिमा शनिबार हान्ताभाइरस सङ्क्रमण पुष्टि भएको एजेन्सीले जनाएको छ । सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको छ ।
हालसम्म थप सङ्क्रमित फेला नपरेको जनाइएको छ । पीएचएसीका अनुसार, उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा छन् र स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन् ।
साथै, क्यानडाको सर्वसाधारण जनतामा हालका लागि सङ्क्रमणको जोखिम कम रहेको एजेन्सीले स्पष्ट पारेको छ ।
यो सङ्क्रमण ध्रुवीय क्षेत्रमा भ्रमण गर्ने ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो। यस प्रकोपका कारण हालसम्म तीनजनाको मृत्यु भइसकेको बताइएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, हान्ताभाइरसको इन्क्युबेसन अवधि सामान्यतया एकदेखि आठ सातासम्म हुन सक्छ ।
यो भाइरस प्रायः सङ्क्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ ।
हान्ताभाइरस सङ्क्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ । गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्याएर ज्यानसमेत लिन सक्छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

