अटलान्टिक क्रुजमा ‘हान्टाभाइरस’ संक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ, २१ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
उक्त घटना अर्जेन्टिनाको उशुआइया बाट केप भर्डे तर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्रमणको शङ्का गरिएको छ ।
कुल छ जना प्रभावितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन् ।
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यो घटना ‘गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी रोग’ को रूपमा देखा परेको थियो, जसले कम्तीमा दुई जनाको ज्यान लिएको र एक जना जोहानेसबर्गमा गम्भीर अवस्थामा रहेको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा पुष्टि भएको हान्टाभाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । संगठनले कहिलेकाहीँ मानिस–मानिसबिच पनि सर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै गम्भीर श्वासप्रश्वाससम्बन्धी जटिलता निम्त्याउन सक्ने बताएको छ।
प्रारम्भिक विवरणअनुसार जहाजमा रहेका ७० वर्षका एक पुरुष यात्रुमा पहिलो पटक लक्षण देखिएको थियो, जसको जहाजमै मृत्यु भएको हो । उनकी ६९ वर्षीया श्रीमतीलाई पछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उहाँको पनि मृत्यु भएको छ ।
तेस्रो मृतक एक ६९ वर्षीय बेलायती नागरिक भएको जनाइएको छ, जो हाल जोहानेसबर्गमा गम्भीर अवस्थामा उपचाररत छन्।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जालमार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्याङ्कन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिए।
उनले द्रुत र समन्वित कारबाहीले मात्र स्वास्थ्य जोखिम नियन्त्रण गर्न सकिने बताए।
यस घटनापछि जहाजका सञ्चालक तथा सम्बन्धित देशहरूबीच थप उपचार, आइसोलेसन र यात्राको आगामी योजना सम्बन्धी छलफल भइरहेको बताइएको छ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

