नेपाललाई आरोग्य पर्यटनको ‘हब’ बनाउने ऐतिहासिक अवसर

384
Shares
– डा. अमूल्य दाहाल

नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमध्ये बुँदा नं. ७३ ले नेपाललाई आरोग्य पर्यटनको विश्वस्तरीय “हब” बनाउने स्पष्ट, समयसापेक्ष र दूरदर्शी मार्गचित्र प्रस्तुत गरेको छ।

१५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने, “नेपाल वेलनेस इयर, २०२७” मनाउने तथा अन्तरनिकाय समन्वय संयन्त्र निर्माण गर्ने निर्णयले नेपालको आरोग्य पर्यटनको माध्यमबाट आर्थिक रूपान्तरण र जनस्वास्थ्य सुधारलाई एउटै धागोमा गाँस्ने महत्वपूर्ण प्रयास गरेको देखिन्छ।

यो केवल नीतिगत घोषणा मात्र नभई नेपालको विकास मोडेललाई नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर हो।

आरोग्यको व्यापक अर्थ

आयुर्वेदका अनुसार “स्वस्थ” हुनु भनेको केवल रोगको अनुपस्थिति होइन, बरु शरीर, मन, इन्द्रिय र आत्माको सन्तुलन हो। आधुनिक विज्ञानले पनि स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक आयामको समग्र अवस्थाका रूपमा स्वीकार गरेको छ।

यस सन्दर्भमा आरोग्य पर्यटन उपचार-केन्द्रित अवधारणा होइन, बरु निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य प्रणाली हो। यसले मानिसलाई रोग लागेपछि उपचार गर्ने मात्र होइन, रोग लाग्न नदिने जीवनशैली सिकाउँछ। योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, सन्तुलित आहार र अनुशासित जीवनशैली यसको मुख्य आधार हुन्।

विश्वव्यापी सन्दर्भ, वर्तमान अवस्था र तथ्यांक

भर्खरै मात्र नेपालले प्रस्ताव गरेको “अन्तर्राष्ट्रिय आरोग्य दिवस” संयुक्त राष्ट्रसंघको महासभाबाट अनुमोदन भई अब प्रत्येक वर्ष अप्रिल १५ मा मनाइने निर्णय हुनु नेपालको लागि ठूलो कूटनीतिक र सांस्कृतिक उपलब्धि हो।

हाल नेपालमा आरोग्य पर्यटनको आकार सानो भए पनि सम्भावना अत्यन्त ठूलो छ। ग्लोबल वेल्नेस इन्स्टिच्युटका अनुसार नेपाल १४३ देशमध्ये ९१औँ स्थानमा रहेको छ र यसको कुल आरोग्य अर्थतन्त्र करिब २.०२ अर्ब अमेरिकी डलर छ।

पर्यटन मन्त्रालयका तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकको औसत बसाइ १२ दिन र दैनिक खर्च करिब ५० अमेरिकी डलर छ। तर आरोग्य पर्यटनले यसलाई उल्लेखनीय रूपमा सुधार गर्न सक्छ—बसाइ अवधि लम्ब्याउने, दैनिक खर्च बढाउने र पुनःआगमन दर वृद्धि गर्ने सम्भावना उच्च छ।

आज विश्वभर आरोग्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ। ग्लोबल वेल्नेस इन्स्टिच्युटका अनुसार सन् २०२४ मा विश्व आरोग्य अर्थतन्त्र ६.७६ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन सन् २०१९ को ४.९९ ट्रिलियन डलरको तुलनामा करिब १३४.४ प्रतिशतले बढी हो।सन् २०२९ मा यो ९.७५ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण छ ।

आरोग्य अर्थतन्त्रमा व्यक्तिगत हेरचाह, स्वस्थकर आहार, व्यायाम, आरोग्य पर्यटन तथा परम्परागत चिकित्सा प्रणालीहरूको महत्वपूर्ण योगदान छ। यस परिप्रेक्ष्यमा नेपालजस्तो देशका लागि आरोग्य पर्यटन एक अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा उभिएको छ।

नेपालको अद्वितीय सम्भावना

नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न देश हो। यहाँ उपलब्ध स्रोतहरू आरोग्य पर्यटनका लागि अत्यन्त उपयुक्त छन्। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधता, योग र ध्यानको ऐतिहासिक जड, आयुर्वेदिक जडीबुटी र परम्परागत उपचार पद्धति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदा, स्वच्छ पानी र जैविक खाद्य प्रणाली—यी सबै नेपालका विशिष्ट विशेषताहरू हुन्।

विशेष गरी नेपाल विश्वमै एक मात्र यस्तो देश हो जहाँ हिमाल–आधारित वेलनेस अनुभव सम्भव छ। अन्य प्रतिस्पर्धी देशहरू जस्तै भारत, थाइल्यान्ड र श्रीलङ्का समुद्र–आधारित स्वास्थ्य पर्यटनमा केन्द्रित छन्, जबकि नेपालको पहिचान हिमालय, शान्त वातावरण र आध्यात्मिक ऊर्जा हो। यही विशिष्टता नै नेपालको प्रतिस्पर्धात्मक लाभ हो।

संगठनात्मक अवसर र संरचना

नेपालमा आरोग्य पर्यटन प्रवर्द्धनका लागि आवश्यक संस्थागत संरचना र आधारभूत पूर्वाधारहरू पहिले नै उल्लेखनीय रूपमा स्थापित भइसकेका छन्। सरकारी क्षेत्रतर्फ राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ जस्तो विशिष्टीकृत सेवा केन्द्रको उपस्थिति रहेको छ भने ७७ वटै जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन्। साथै, देशव्यापी रूपमा फैलिएको आयुर्वेद औषधालयहरूको सञ्जाल र ७५३ वटै स्थानीय तहमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रहरूले सेवा पहुँचलाई अझ सुदृढ बनाएका छन्।

निजी क्षेत्रतर्फ पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवामा संलग्न विभिन्न स्वास्थ्य संस्थाहरू, आधुनिक सुविधा सम्पन्न स्पा केन्द्रहरू तथा वेलनेस सेवाप्रदायक संस्थाहरू सक्रिय रूपमा कार्यरत छन्। यसका अतिरिक्त, योग, ध्यान, आयुर्वेद तथा प्राकृतिक चिकित्साका क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिको पर्याप्त उपलब्धता नेपालका लागि थप बलियो पक्ष हो।

यी सबै संस्थागत संरचना, सेवा सञ्जाल र दक्ष जनशक्तिलाई समन्वयात्मक र रणनीतिक ढंगले परिचालन गर्न सकिएमा नेपालले छोटो समयमै आरोग्य पर्यटनको सुदृढ र दिगो आधार निर्माण गर्न सक्छ। यसले न केवल स्वास्थ्य सेवा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नेछ, बल्कि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा एक आकर्षक आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

नीति समन्वयको आवश्यकता

नेपालको राष्ट्रिय स्वास्थ्य नीति मुख्यतः प्रवर्द्धनात्मक (Promotive) र निरोधात्मक (Preventive) स्वास्थ्य सेवामा केन्द्रित रहेको छ भने पर्यटन नीति दिगोपन, गुणस्तर र उच्च मूल्यका पर्यटन उत्पादनहरूको विकासमा आधारित छ। आरोग्य पर्यटन यी दुई नीतिगत धारहरूको संगम बिन्दुका रूपमा उभिएको क्षेत्र हो, जसले स्वास्थ्य र पर्यटन दुवै क्षेत्रलाई एकीकृत गर्दै समग्र राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्ने अपार सम्भावना बोकेको छ।

यस सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न संघीय स्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच सुदृढ, स्पष्ट र परिणाममुखी नीति समन्वय अपरिहार्य छ। यसका साथै, प्रादेशिक मन्त्रालयहरू र स्थानीय तहबीच पनि समान दृष्टिकोण, सहकार्य र कार्यान्वयन समन्वय सुनिश्चित गरिनु अत्यन्त आवश्यक हुन्छ, ताकि नीति निर्माणदेखि सेवा प्रवाहसम्म एकरूपता र प्रभावकारिता कायम रहोस्।

साथै, आरोग्य पर्यटनको विश्वसनीयता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न योग, आयुर्वेद, ध्यान तथा प्राकृतिक चिकित्सासम्बन्धी सेवा केन्द्रहरूको स्पष्ट मापदण्ड निर्धारण, गुणस्तर सुनिश्चितता प्रणालीको विकास, दक्ष मानव संसाधन उत्पादन तथा व्यवस्थापन, र अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रक्रियामा विशेष ध्यान दिनुपर्छ। यस्ता प्रयासहरूले नेपाललाई विश्वस्तरमा विश्वासिलो र आकर्षक आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछन्।

प्रमुख चुनौतीहरू

यद्यपि सम्भावना ठूलो भए पनि नेपालमा आरोग्य पर्यटन विकासका लागि केही चुनौतीहरू विद्यमान छन्:
• स्पष्ट र कार्यान्वयनयोग्य नीति/रणनीतिको अभाव
• गुणस्तरीय पूर्वाधार र सेवा कमी
• अन्तर्राष्ट्रिय प्रमाणीकरणको अभाव
• अनुसन्धान तथा प्रमाण–आधारित अभ्यास कमजोर
• आधिकारिक तथ्याङ्कको कमी

रणनीतिक उपायहरू

आरोग्य पर्यटनलाई सफल बनाउन निम्न रणनीतिहरू अवलम्बन गर्न आवश्यक छ:
• आरोग्य पर्यटन रणनीतिको शीघ्र कार्यान्वयन
• सार्वजनिक-निजी साझेदारी (PPP) मोडेल विस्तार
• हिमालय-आधारित वेलनेस प्याकेज विकास
• डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ
• आयुष भिसा/मेडिकल भिसा र सेवा प्रक्रियामा सहजीकरण
• स्थानीय समुदायको सक्रिय सहभागिता र लाभ सुनिश्चितता
• उच्च हिमाली खेलकुद पर्यटन मोडलको विकास

“नेपाल वेलनेस इयर – २०२७” को महत्व

“नेपाल वेलनेस इयर – २०२७” अभियानले नेपाललाई विश्व वेलनेस बजारमा स्थापित गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ। यदि यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन गरियो भने विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, ग्रामीण विकास तथा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ।

निष्कर्ष

नेपालसँग आरोग्य पर्यटन विकासका लागि आवश्यक सबै आधारहरू उपलब्ध छन्-—प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर, परम्परागत चिकित्सा प्रणाली र आध्यात्मिक शक्ति।

अब आवश्यक छ स्पष्ट नीति, प्रभावकारी समन्वय र दृढ कार्यान्वयन।यदि नेपालले आरोग्यलाई आफ्नो राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सक्यो भने यसले केवल आर्थिक समृद्धि मात्र होइन, विश्वलाई स्वास्थ्य, शान्ति र सन्तुलित जीवनशैली प्रदान गर्ने केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सक्छ।

“आरोग्य नै समृद्धिको आधार हो”—अब यो केवल नारा होइन, नेपालको समग्र विकासको मार्गदर्शक सिद्धान्त बन्ने समय आएको छ।

# डा. दाहाल हाल स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *