‘गर्भमा रहेको भ्रुण वा जन्मने शिशुको लागि आमाको मात्रै होईन बुबाको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण’

एजेन्सी । हामीले पहिले देखि नै सुन्दै आएको एउटा महत्वपूर्ण कुरा के थियो भने, ‘गर्भमा रहेको भ्रुण र जन्मने शिशुको स्वास्थ्य गर्भवती आमाको स्वास्थ्यमा निर्भर हुन्छ ।’
तर, पछिल्लो एउटा अनुसन्धानले त्यो धारणालाई अपुरो मानेको छ ।
बेलायतको ‘युनिभर्सिटी अफ साउथम्टन’को नयाँ अनुसन्धानले भन्यो, ‘गर्भको भ्रुण र जन्मने शिशुको स्वास्थ्यसंग आमाको स्वास्थ्य मात्रै होईन बुबाको स्वास्थ्य र अवस्थामा पनि निर्भर रहन्छ । अर्थात अब स्वस्थ शिशुको लागि आमाले मात्रै होईन बुबाले पनि आफ्नो स्वास्थ्य, रहनसहन र आनीबानीमा ध्यान दिनु पर्यो।’
‘द ल्यानसेट’मा प्रकाशित उक्त अध्ययनले बुवाको स्वास्थ्य अवस्था, व्यवहार, तौल, धूम्रपान, मद्यपान वा लागूपदार्थ सेवनजस्ता बानी, मानसिक स्वास्थ्य तथा उमेरले गर्भावस्था र सन्तानको स्वास्थ्यमा प्रभाव पार्ने देखाएको छ।
त्यसो त अहिलेसम्मका अनुसन्धानहरू गर्भावस्था र अभिभावकत्वमा बुवाको स्वास्थ्यको प्रभावको विषयलाई लिएर खासै अध्ययन गरेका थिएनन्। तर, अध्ययनका वरिष्ठ लेखक किथ गडफ्रेका अनुसार यो अनुसन्धानले किन बुवाको स्वास्थ्यलाई पनि आमाको जत्तिकै निगरानी गर्नुपर्छ भन्ने आधार तयार गरेको छ।
उनले भनेका छन्, ‘केही पक्षहरूमा बुवाको प्रभाव आमाको भन्दा अझ बलियो देखिन्छ, र यीमध्ये केही प्रभाव बुवाको आफ्नै बाल्यकालका अनुभवसँग जोडिएका छन् ।,’
त्यसैले अनुसन्धानकर्ताहरूले “स्वास्थ्य असमानता घटाउन र भविष्यका पुस्ताको परिणाम सुधार गर्न केटा र युवाहरूको स्वास्थ्य र राम्रो बानीका लागि लगानी गर्नुपर्ने” तर्क गरेका छन्।
किन भावी बुवाको स्वास्थ्य निगरानी आवश्यक छ ?
मुम्बईस्थित प्रजनन स्वास्थ्य विशेषज्ञ तथा अन्तर्राष्ट्रिय प्रजनन समाज महासंघकी अध्यक्ष(निर्वाचित रिस्मा पाईले भ्रूण र नवजात शिशुको स्वास्थ्यमा बुवाको योगदानको आवश्यकता पुनः जोड दिएकी छन्। उनले भनेकी छन्, “यो पक्षलाई प्रायः बेवास्ता गरिन्छ, तर स्वस्थ शिशुका लागि शुक्राणुको स्वास्थ्य अत्यावश्यक हुन्छ,” उनी भन्छिन्।
विश्वव्यापी रूपमा सन् १९७३ देखि २०१८ सम्म पुरुषहरूको शुक्राणु संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ । २१औँ शताब्दीमा यसको गिरावट अझ तीव्र भएको छ। अनुसन्धानकर्ताहरूका अनुसार युवाहरूको जीवनशैलीले शुक्राणुको गुणस्तरमा प्रभाव पार्छ। धूम्रपान, मोटोपना, उच्च रक्तचाप, अत्यधिक मद्यपान, उमेर र केही मानसिक स्वास्थ्यसम्बन्धी समस्याले शुक्राणुमा परिवर्तन ल्याउन सक्छ, जसले गर्भावस्था र सन्तानको स्वास्थ्यमा असर पुर्याउँछ।
अध्ययनहरूले देखाएका छन् कि गर्भधारणअघि बुवाको स्वास्थ्य महिलामा देखिने प्रिइक्लामसिया जस्ता गम्भीर अवस्थासँग सम्बन्धित हुन्छ। यो अवस्था प्रायः गर्भावस्थाको बीचतिर देखिन्छ र उच्च रक्तचाप, सुन्निनु, टाउको दुखाइ तथा दृष्टि समस्या जस्ता लक्षणले चिनिन्छ। गर्भधारणअघि दीर्घरोग भएका पुरुषहरू—विशेषगरी मोटोपना, उच्च रक्तचाप र उच्च रक्तचिनी जस्ता मेटाबोलिक समस्याहरू भएकाहरुका पार्टनरमा पनि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ।
बुवाको जीवनशैली र सन्तानको स्वास्थ्य
रिपोर्टमा भनिएको छ, ‘बुवाको जीवनशैलीले सन्तानको स्वास्थ्यमा पनि प्रभाव पार्छ। गर्भधारणअघि नियमित व्यायाम गर्ने पुरुषहरूमा सन्तानमा जन्मजात दोषको जोखिम कम देखिएको छ। यसको विपरीत, धूम्रपान गर्ने र अत्यधिक तौल भएका बुवाहरूमा सन्तानमा जन्मजात असामान्यता हुने सम्भावना बढी हुन्छ। साथै, गर्भधारणअघि केही महिनासम्म धूम्रपान गर्ने बुवाका सन्तानमा क्यान्सरको जोखिम पनि बढी हुने देखिएको छ।’
युवाहरूको स्वास्थ्यमा विशेष ध्यान दिउँ
यस अध्ययनकी सह-लेखक डेनियल स्कोइनाकेर का अनुसार पुरुषको बाल्यकालका अनुभवहरू—जस्तै तनाव, शारीरिक तथा मानसिक स्वास्थ्य, वातावरण र शिक्षा—ले प्रजनन उमेरमा उनको स्वास्थ्य निर्धारण गर्छ। यी तत्वहरूले पछि पार्टनरको स्वास्थ्य र व्यवहार (जस्तै गर्भावस्थाको हेरचाह) मा प्रभाव पार्नुका साथै विकासशील शिशुमा प्रत्यक्ष जैविक असर पार्न सक्छन्।
अध्ययनका प्रमुख लेखक जोनाथन हङले पनि जातीय विभेद र उपनिवेशवादले धेरै काला र खैरो वर्णका पुरुषहरूको पारिवारिक र सामुदायिक भूमिकामा अवरोध सिर्जना गरेको उल्लेख गरेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार पुरुषहरूको स्वास्थ्यको महत्वबारे सचेतना बढाउनु भनेको महिलाको भूमिकालाई कम आँक्नु होइन। ‘बरु, यो यो पुरुष र पाटर्नरलाई गर्भधारणअघि, गर्भावस्थाको दौरान र त्यसपछि पनि सहयोगी, सहयात्री र हेरचाहकर्ता बन्न सक्षम बनाउने सामूहिक प्रयास हो,’ उनीहरूले स्पष्ट पारेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 