इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु

काठमाडौं, १७ फागुन । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको छ । इजरेल तथा अमेरिकी आक्रमणमा खामेनीको शनिबार मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ ।
उनको निधनमा इरानमा सात दिन सार्वजनिक विदा सहित ४० दिन शोक घोषणा समेत गरिएको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।
तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।
८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका थिए। उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका थिए ।
इजरेल तथा अमेरिकी आक्रमणको बदलामा इरानले मध्येपूर्वका कतार, साउदी अरेविया, बहराइन, जोर्डन, कुवेत, युएई लगायतका देशमा रहेका अमेरिकी एयर बेसमा आक्रमण गरेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ