‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’

सुर्तीजन्य पदार्थको कुलतमा लाग्ने नेपाली : ५.१ प्रतिशत महिला, ४१.८ प्रतिशत पुरूष

१५ वर्ष उमेर नपुग्दै चुरोटको कुलतमा लाग्नेहरु काठमाडौँ उपत्यकामा बढी
16
Shares

काठमाडौँ, २७ माघ । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाहरु कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको लतमा रहेको पाईएको छ । यहि लतमा, यहि उमेर समूहको पुरुष हिस्सा ४१.८ प्रतिशत रहेको छ ।

सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’को प्रतिवेदनले ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्ष अघि नै कम्तिमा एक खिल्ली चुरोट बिडी पुरै सेवन उल्लेख गरेको छ ।

त्यसाे त नेपाल स्टेप्स सर्भे – २०१९ मा १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सुर्तीजन्य पदार्थको कुलतमा रहेको उल्लेख थियो । त्यसमा २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला चुरोट सेवनकर्ता रहेको उल्लेख थियो ।

अहिले सार्वजनिक सर्वेक्षणमा उमेर समूह १५ देखि ४९ वर्ष रहेकोले केही कमि देखिएको हुनसक्ने जानकारहरु बताउँछन् ।

सुर्ती सेवन प्रयोगकर्ता : धनी कम, गरीव बढी
सोमबार सार्वजनिक प्रतिवेदनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ता धनी व्यक्ति भन्दा गरीव व्यक्ति बढी रहेको देखाएको छ ।

सर्वेक्षणले अति गरीव वर्ग २५.५ प्रतिशत सुर्तीजन्य पदार्थको कुलतमा लाग्दा अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ ।

१५ वर्ष उमेर नपुग्दै चुरोटको कुलतमा लाग्नेहरु काठमाडौँ उपत्यकामा बढी

सर्वेक्षणले ५.५ प्रतिशत किशोर किशोरीहरु १५ वर्ष अघि नै चुरोटको कुलतमा लागेको देखाएको छ ।

त्यसपछि सबैभन्दा बढी ४.४ प्रतिशत गण्डकी प्रदेशको ग्रामिण क्षेत्रका किशोर किशोरीहरु रहेको उल्लेख छ ।

सोही उमेर समूहमा तेस्रो बढी सुदूरपश्चिमको ग्रामिण भेगका किशोर किशोरीहरु रहेको उल्लेख छ । त्यस भेगका ४.१ प्रतिशत किशोर किशोरीहरु १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेको उल्लेख छ ।

दैनिक २० खिल्ली बढी चुरोट सेवन गर्ने १५ देखि १७ वर्ष उमेर समूहका बढी

सर्वेक्षणले दैनिक २० खिल्ली बढी चुरोट सेवन गर्नेहरुमा १५ देखि १७ वर्ष उमेर समूहका बढी रहेको देखाएको छ ।

सर्वेक्षणमा सहभागी सो उमेर समूहका कुल १ हजार ८९९ जनामध्ये ९.५ प्रतिशतले दैनिक २० खिल्ली भन्दा माथि चुरोट सेवन गर्ने गरेको बताएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *