भारतमा बढ्दै कोरोना संक्रमण, एक हजार भन्दा बढीमा पुष्टि
काठमाडौँ, १२ जेठ । भारतमा कोरोना (कोभिड–१९) को संक्रमण बढिरहेको छ । भारतभर कुल एक हजार ९ व्यक्तिमा कोभिड–१९ को संक्रमणको सक्रिय केस रहेको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यसमध्ये भारतको केरला राज्यमा सबैभन्दा बढी ४३० कोभिड–१९ को सक्रिय केस रहेको पाइएको छ । त्यस्तै, महाराष्ट्र राज्यमा २०९ र दिल्लीमा १०४ केस पुष्टि भएका मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार, कोभिड–१९ संक्रमणका केसहरू रिपोर्ट भएका अन्य राज्यहरूमा गुजरात (८३), तमिलनाडु (६९), कर्नाटक (४७), उत्तर प्रदेश (१५), राजस्थान (१३), पश्चिम बंगाल (१२), हरियाणा (९), पुडुचेरी (९), आन्ध्र प्रदेश (४), मध्य प्रदेश (२), तेलंगाना (१), गोवा (१) र छत्तीसगढ (१) छन् ।
कोभिड–१९ को बढ्दो केसबारे समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुण्डू रावले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
मन्त्री गुण्डू रावले भने, “हामीले दक्षिण–पूर्वी एसियाली देशहरूमा कोभिड संक्रमणका केसहरू बढेको सुनेका छौँ । तर, त्यहाँ पनि साधारण संक्रमण मात्र भएको छ । भारतमा आएका कोभिड–१९ का केसहरू पनि साधारण खालका नै छन् ।”
उनले अगाडि थपे, “महाराष्ट्र र अन्य स्थानहरूमा केही मृत्यु भएका छन् । तर यी मृत्युहरू सिधै कोभिडसँग जोडिएका छैनन् । यी केसहरूमा अन्य रोगहरू पनि थिए ।”
तैपनि सर्तक र सावधान रहनुपर्ने तथा यो अवस्थालाई निगरानी एवं स्वास्थ्य एडभाइजरी पनि जारी गरेको मन्त्री दिनेश गुण्डू रावले बताए ।
सम्पर्क इमेल : [email protected]