अमेरिकामा रोबर्ट एफ केनेडी जूनियरलाई स्वास्थ्य मन्त्री बनाउँदा किन भयो बिरोध ?

एजेन्सी । रोबर्ट एफ केनेडी जूनियरलाई अमेरिकाको स्वास्थ्य मन्त्रीको रूपमा नियुक्त गर्ने डोनाल्ड ट्रम्पको कदमको विरोध सुरु भएको छ । केनेडी जूनियर उनको कोभिड- १९ खोपको विरोधीको रुपमा परिचित व्यक्ति हुन् ।
क्यालिफोर्निया डेमोक्र्याटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले उनको स्वास्थ्य मन्त्रीमा भएको नियुक्तिलाई अत्यन्तै नराम्रो कार्य भन्दै मावन जीवनसंग फेरी पनि खेलवाड गरिरहेको बताए । उनले भने, ‘केनेडी जूनियर खोप विरोधी अभियुक्त हुन्, उसले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई नष्ट गरिरहेको छ।’
अमेरिकन पब्लिक हेल्थ एशोसिएशनले पनि रोबर्ट एफ केनेडी जूनियरको नियुक्तिको विरोध गरेको छ ।
संघका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले भने, ‘उनी प्रशिक्षण, व्यवस्थापन र स्वभावको आधारमा पनि यो पदका लागि योग्य छैनन्। किनकी स्वास्थ्य क्षेत्रमा न उनको अनुभव छ न त सकारात्मकता । उनले पहिले नै देशको स्वास्थ्य क्षेत्रलाई ठूलो नोक्सान पुर्याइसकेका छन् ।’
यदि केनेडीले देशको शीर्ष स्वास्थ्य अधिकारीको रूपमा खोपहरू सुरक्षित र प्रभावकारी छैनन् भन्ने आफ्नो विगतको दावीलाई बढावा दिने वा राष्ट्रिय स्वास्थ्य संस्थानमा ६०० जना मानिसहरूलाई हटाउने आफ्नो इच्छामा कार्य गर्ने मौका पाए भने लाखौ अमेरिकीहरुको जीवनमा थप प्रभाव तत्काल पर्ने अधिकारीहरुले दावी गरेका छन् ।
यता खोप विरोधी व्यक्तिले ट्रम्प सरकारको स्वास्थ्यको नेतृत्व गर्ने खबर सार्वजनिक भएपछि मोडर्नाको सेयर बिहीबार ५ प्रतिशतभन्दा बढीले तल झरेको छ ।
यसैगरी नोभाभ्याक्स ७ प्रतिशतले ओरालो लाग्यो भने फाइजरको सेयर २ प्रतिशले घटेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
कोभिड खोप समेत बनाउने बायोएनटेकको सेयर ७ प्रतिशतले घटेको देखिएको छ।
केनेडी जुनियरले सन् २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



