प्रेस काउन्सिलका अधिकारीहरुसंग चिकित्सकहरुले भने ‘स्वास्थ्यका समाचार लेख्नेहरुलाई अलि सम्वेदनशील बनाईदिनु पर्‍यो’

0
Shares

काठमाडौँ, ९ मंसिर । विभिन्न अस्पतालको नेतृत्व तहमा रहेका चिकित्सकहरुले स्वास्थ्यका समाचार लेख्ने सञ्चारकर्मी तथा सञ्चारमाध्यम अलि सम्वेदनशील हुुनुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले बुधबार मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन् । उनीहरुले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको कारण समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको बताएका हुन् ।

सञ्चारकर्मीहरुले उपचार पद्धतिबारे जानकारी नलिई, औषधिबारे यथेष्ट जानकारी नभई र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषयलाई समेत ध्यान नदिई प्रस्तुत गर्ने कतिपय सामग्रीहरुले पार्ने नकारात्मक असरबारे चिकित्सकहरुले कुरा उठाएका थिए । उनीहरुले आम सरोकार, स्वास्थ्य सचेतनाका विषयका लागि सबैभन्दा सहज र प्रभावकारी माध्यम मिडिया नै रहे पनि कहिलेकाँही सम्वेदनशीलता नबुझि गरिने सतही समाचारले ठूलो क्षति पुग्ने गरेको बताएका थिए ।

उनीहरुले प्रेस काउन्सिल नेपाललाई मिडिया क्षेत्र र मेडिकल क्षेत्रबीच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिन समेत आग्रह गरेका थिए ।

काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको अन्तरक्र्रियामा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीलाई स्वागत गरेका थिए । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले संयोजन गरेको कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा.  विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोला सहभागी थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली सहभागी थिए ।

यसैगरी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाण्डु मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला पनि सहभागी थिए ।

यता औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण जोशी, मेडिकल काउन्सिलका सदस्य डा. छवि पन्थी लगायतले पनि कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।

सो कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुली लगायत कर्मचारी सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *