जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकको सुझाव

0
Shares

काठमाडौँ, ८ मंसिर । जाडो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिकमा विभिन्न स्वास्थ्य समस्या देखिने जोखिम बढ्ने भएकाले उनीहरूको खानपान, शारीरिक गतिविधि र बसोबासको वातावरणमा विशेष ध्यान दिन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

उमेर बढ्दै जाँदा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता र रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदै जाने भएकाले ज्येष्ठ नागरिकलाई चिसो मौसममा विभिन्न सङ्क्रमण तथा स्वास्थ्य समस्याले बढी प्रभावित पार्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि स्वस्थ बुढ्यौलीका लागि ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र सुरक्षित वातावरणलाई प्राथमिकतामा राखेको छ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटीका अनुसार चिसो मौसममा विशेषगरी छातीको सङ्क्रमण, निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या तथा शरीरको तापक्रम अत्यधिक घट्ने जोखिम रहन्छ ।

त्यसैले उनीहरूलाई न्यानो कपडा लगाउने, सुत्ने कोठा न्यानो राख्ने र हिटर प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आवश्यक छ ।

ज्येष्ठ नागरिकको खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने डा.बोगटी बताउँछन् । उनीहरूलाई प्रोटिन तथा पोषणयुक्त खाना, मौसमी फलफूल, हरियो सागसब्जी र पर्याप्त झोलिलो पदार्थ सेवन गराउनुपर्छ ।

चिसोका कारण पानी कम पिउने बानी हुन सक्ने भएकाले शरीरमा पानीको मात्रा पर्याप्त राख्न परिवारका सदस्यले पनि सहयोग गर्नुपर्छ ।

जाडोमा छातीको सङ्क्रमण तथा निमोनियाको जोखिम बढ्ने भएकाले ज्येष्ठ नागरिकलाई भीडभाड, धुवाँधुलो र सङ्क्रमण फैलिन सक्ने वातावरणबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ।

नियमित हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र चिकित्सकको सल्लाहअनुसार फ्लू तथा निमोनियाविरुद्धका खोप लगाउनु आवश्यक हुन्छ । दम, उच्च रक्तचाप, मधुमेह तथा अन्य दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षणलाई निरन्तरता दिनुपर्छ ।

जाडोमा शारीरिक गतिविधि कम हुँदा ज्येष्ठ नागरिकमा अन्य स्वास्थ्य समस्या पनि बढ्न सक्छन् । त्यसैले नियमित हिँडडुल र हल्का व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन्।

तर अत्यधिक चिसो र शीतलहर चलेका बेला बिहान सबेरै बाहिर निस्कनु उपयुक्त हुँदैन। घाम लागेको समयमा सुरक्षित स्थानमा बसेर घाम ताप्ने र शरीरलाई सक्रिय राख्ने गतिविधि गर्न सकिन्छ ।

चिसो मौसममा भुइँ चिप्लो हुने तथा हिँडडुलमा कठिनाइ हुन सक्ने भएकाले लडेर चोटपटक लाग्ने जोखिम पनि रहन्छ। यसबाट बच्न नचिप्लिने जुत्ता प्रयोग गर्ने, घरभित्रको बाटो खुला राख्ने र आवश्यकताअनुसार लौरोको सहारा लिनुपर्ने डा. बोगटी बताउँछन् ।

जाडो मौसममा शरीरको तापक्रम सामान्यभन्दा अत्यधिक घट्दा हाइपोथर्मिया हुन सक्छ । शरीर काँप्ने, अत्यधिक थकान हुने, अलमलिने, बोली अस्पष्ट हुने तथा असामान्य रूपमा निद्रा लाग्ने यसका प्रमुख लक्षण हुन् ।

यस्ता लक्षण देखिएमा तत्काल न्यानो स्थानमा लैजानुका साथै आपत्कालीन स्वास्थ्य सेवा लिनुपर्छ । त्यस्तै, छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा होसमा परिवर्तन आउने अवस्था देखिएमा ढिलाइ नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

चिसो मौसममा छाला सुक्खा हुने र चिलाउने समस्या पनि देखिन सक्छ। त्यसैले छालाको नियमित सरसफाइसँगै मोइस्चराइजर प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

डा. बोगटीका अनुसार ज्येष्ठ नागरिकलाई जाडोबाट सुरक्षित राख्न न्यानो वातावरण, सन्तुलित तथा पोषणयुक्त खानपान, आवश्यक खोप, नियमित शारीरिक गतिविधि र पारिवारिक सहयोग महत्वपूर्ण हुन्छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई व्यक्तिगत हेरचाहमा मात्र सीमित नराखी परिवार र समुदायले समेत प्राथमिकता दिन आवश्यक छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *