कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य सेवा तथा शैक्षिक सहकार्यका लागि सम्झौता

काठमाडौं, ७ मंसिर । जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट-नेपाल) अन्तर्गतको कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा प्रवाह, चिकित्सा शिक्षा तथा तालिममा सहकार्य गर्ने विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सोमबार (मंसिर ७ गते) कीर्तिपुर अस्पतालको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीच उक्त सम्झौता भएको हो।
समझदारीपत्रमा कीर्तिपुर अस्पतालका तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट रजिस्ट्रार डा. अरुण शाहीले हस्ताक्षर गरेका छन्।
यस्तै, साक्षीका रूपमा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ रहेका छन्।
समुदायमा आधारित अस्पताल र शैक्षिक स्वास्थ्य संस्थाबीचको सहकार्यमार्फत बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य जनशक्ति विकासमा टेवा पुर्याउने उद्देश्यले यो सम्झौता गरिएको जनाइएको छ।
सम्झौताका मुख्य बुँदाहरू:
* बिरामी प्रेषण (रिफरल):दुवै संस्थाको सेवा उपलब्धता, क्षमता र बिरामीको आवश्यकताका आधारमा सहज रूपमा बिरामी प्रेषण (रिफर) गर्ने।
* शैक्षिक तथा क्लिनिकल तालिम:आपसी सहमतिमा आवासीय चिकित्सक (रेजिडेन्ट), स्नातकोत्तर प्रशिक्षार्थी, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको क्लिनिकल रोटेशन तथा शैक्षिक आदानप्रदान गर्ने। यसअन्तर्गत कीर्तिपुर अस्पतालमा बर्न (जलन) तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसिया लगायतका विधामा तालिम तथा रोटेशनको व्यवस्था गरिनेछ।
* निरन्तर चिकित्सा शिक्षा (सीएमई):दुवै संस्थाले संयुक्त रूपमा सेमिनार, कार्यशाला तथा अनुसन्धानमूलक कार्यक्रमहरू सञ्चालन गर्ने।
यस सहकार्यले दुवै अस्पतालको विशेषज्ञ सेवा आदानप्रदान हुनुका साथै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको व्यावहारिक सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको रजिस्ट्रार डा. शाहीले बताए।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


