निःशुल्क वितरण गरिने हेमोफिलियाको औषधी नेपाल आइपुग्यो
काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।
समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।
५ प्रकारका औषधी आएको छ, उनले भने,आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ ।
मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया शुरु भएको हो ।
अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।
विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।
सम्पर्क इमेल : [email protected]