नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता
काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघले केही दिन देखि जारी आन्दोलन फिर्ता लिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आज चार बुँदे सहमति गर्दै संघले जारी आन्दोलनलाई आजै देखि अन्त्य गरेको हो ।
चिकित्साशास्त्र तर्फ पोष्ट ग्राजुएट्स(पीजी) तहमा अध्ययनरत चिकित्सकको निर्वाह भत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रिएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलको अग्रसरता र संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीको उपस्थितिमा भएको आजको छलफल पछि मन्त्रालयका तर्फबाट सहसचिव डा भीमप्रसाद सापकोटा र संघका तर्फबाट महासचिव डा सञ्जीव तिवारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यसो त निर्वाह भत्ताका सम्वन्धमा गत १५ बैशाखमा सम्पन्न १८ औँ बैठकले स्पष्ट पारिसकेको थियो । चिकित्सक संघले भने सो बैठक पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वक्तव्यको विरोध गर्दै आएको थियो ।
सहमति पछि चिकित्सकहरुलाई आजैबाट आन्दोलन फिर्ता लिइएको भन्दै संघले काममा फर्किन निर्देशन दिइएको छ ।
यस्तो छ मन्त्रालयसंग संघले गरेको सहमतिका चार बुँदा:
१.) चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।
२.) आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।
३.) चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।
४.) नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।
सम्पर्क इमेल : [email protected]