नारायणी अस्पताल कुटपिट घटनामा एक जना पक्राउ, घटनाबारे बुझ्न मन्त्रालय र चिकित्सक संघको टोली वीरगञ्जमा

28
Shares

वीरगञ्ज, ११ साउन । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटना पछि शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा उत्रिएका मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य व्यक्तिको पहिचान तथा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

शनिबार आकस्मिक कक्षमा ल्याइएका एक बिरामीको उपचारका क्रममा कार्डियाक एरेष्ट भएर मृत्यु भएको अस्पतालले जनाएको छ । तर बिरामीका आफन्तहरुले चिकित्सक र अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै तोडफोड र कुटपिटमा उत्रिएका थिए ।

सो क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राम गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न स्थानमा गम्भीर चोट लागेका उनको सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

घटना पछि चिकित्सकहरुले आक्रमणमा उत्रिएका दोषीहरुलाई पक्राउ गरी क्षतिपूर्ति तथा कडा कारवाहीको माग गर्दै आकस्मिक सहितका सेवा बन्दको घोषणा गरेका छन् ।

यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पतालको घटनाको विषयमा सरकार सम्वेदनशील रहेको भन्दै घटनाको छानविन गरी दोषीमाथि कार्वाही हुने बताएकी छन् । उनले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरेको बताएकी छन् ।

स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

यता घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । उनको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।

उता वीरगञ्ज पुगेका नेपाल मेडिकल एसोसिएसनका महासचिव डा विश्वराज दवाडी र सह कोषाध्यक्ष डा तेजसुसिंह मल्लले घटनाको छानविन गर्न दोषीमाथि कार्वाही गर्न स्थानीय प्रशासनसंग जोडदार माग गरेको बताएका छन् ।

उनीहरुले गम्भीर घाइते डा प्रमोद रामको स्वास्थ्य अवस्था हेरेर थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको बताएका छन् । घटना पछि पीडित स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरेको प्रति आक्रोश व्यक्त गर्दै निर्णय फिर्ता लिन माग गरेको छ । संघले नारायणी शाखाको आव्हानमा भइरहेको आन्दोलनप्रति ऐकेवद्धता जनाएको समेत डा मल्लले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *