आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा

बालेन नेतृत्वको सरकार बनेपछि चिकित्सकहरुको पहिलो कडा आन्दोलन

काठमाडौँ, १२ साउन । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राज्यले गरेको दमनको बिरोधमा बन्दको आव्हान गरिएको संघले जनाएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा गत शनिबार बिरामीको मृत्यु पछि भएको तोडफोड तथा आक्रमणमा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा आन्दोलित चिकित्सकहरुमाथि प्रहरीले सोमबार पुन धरपकड र दुर्व्यहार गरेपछि संघले आकस्मिक बाहेकका सेवा बन्दको आव्हान गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय वीरगञ्जमा छलफलका लागि गएका संघका केन्द्रीय सदस्य अमित झा, संघको नारायणी शाखा प्रमुख डा मनोजकुमार गुप्ता लगायतका चिकित्सकहरुमाथि प्रमुख जिल्ला अधिकारीकै अगाडी पर्सा प्रहरीले गाली गलौच र धरपकड गरेको संघको आरोप छ ।

संघका केन्द्रीय अध्यक्ष डा बद्री रिजाल र महासचिव डा विश्वराज दवाडीद्धारा मंगलबार मध्यरातमा जारी विज्ञप्तीमा डा प्रमोद राम र स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संसोधन, २०७९) बमोजिम कडा कार्वाही गर्न माग गरेको छ ।

यस्तै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा लागेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कार्वाही गर्न माग गरिएको छ ।

आम सर्वसाधारणलाई अफ्टेरो

नेपाल चिकित्सक संघ नारायणी शाखाले घटनाको विरोधमा आइतबार देखि नै वीरगञ्जमा आकस्मिक सहितको सेवा बन्दको घोषणा गरेको थियो । आकस्मिक सेवा समेत बन्द गरेर आन्दोलनको घोषणा गर्दा चौतर्फी बिरोध भएको थियो । संघले आजको बन्दमा आकस्मिक सेवा त दिने भनेको छ तर देशव्यापी बन्दको आव्हान गरेको छ ।

यसले आम सर्वसाधारणलाई भने पक्कै पनि अफ्टेरो हुने छ । अस्पताल तथा स्वास्थ्य उपचार अत्यावश्यक सेवा ऐन अन्तगर्त परे पनि नेपाल चिकित्सक संघले गर्ने विरोधमा सेवा बन्दलाई प्राथमिकता दिदै आएको छ । धेरैले बन्दको विकल्पमा अन्य विरोधका कार्यक्रम ल्याउन सुझाव दिए पनि संघ नेतृत्वले सुनुवाई भने गरेको छैन । सेवाका लागि सुरक्षा पहिलो सर्त हुन्छ, जव सुरक्षा नै छैन भने कसरी सेवा दिन सकिन्छ ? संघका अधिकारीहरुले भन्दै आएका छन् ।

बालेन नेतृत्वको सरकार बनेपछि चिकित्सकहरुको पहिलो कडा आन्दोलन

अघिल्ला सरकारका पालामा पनि बन्दहरु भइरहेका थिए । तर बालेन्द्र शाह नेतृत्वको सरकार आइसकेपछि यसरी संस्थागत रुपमा संगठनको आव्हानमा आन्दोलन हुन सकेको थिएन ।

तर, नेपाल चिकित्सक संघले यसपटक देशव्यापी रुपमा बन्दको आव्हान गरेर सरकारमाथि ढ्यांङग्रो ठोकिदिएको छ ।

घटनाको तीन दिनसम्म यसलाई सेटलडाउन गराउनुको सट्टा प्रशासन र प्रहरीको ज्यादती झन् बढेको भन्दै सेवा नै बहिस्कार गर्ने तहसम्म पुग्ने अवस्था सिर्जना हुनुले बर्तमान सरकारको छविमा पनि आँच पुग्ने देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *