भेरी अस्पतालमा सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

सातवटै प्रदेशमा प्रत्यारोपण सेवा सुरु गर्ने राष्ट्रिय प्रत्यारोपण केन्द्रको तयारी

नेपालगञ्ज, १० बैशाख । भेरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सक टोलीको सहयोगमा मंगलबार भेरी अस्पतालमा दुई जना बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोली नेपालगञ्ज आएको थियो ।
डा श्रेष्ठका अनुसार पहिलो प्रत्यारोपण महोत्तरीका एक ४० वर्षीय पुरुषको गरिएको थियो । उनलाई ४० बर्षीया महिलाले मिर्गौला दान गरेकी थिईन् । मिर्गौला दान गर्ने महिला बिरामी पुरुषकै श्रीमती हुन् ।

यस्तै दोस्रो प्रत्यारोपण बर्दियाका ३७ वर्षीय पुरुषमा गरिएको हो । उनलाई आफ्नै २६ वर्षीया श्रीमतीले मिर्गौला दान गरेकी थिईन् ।

प्रत्यारोपणका लागि शल्यचिकित्सक डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिष्ट डा. विक्रम बीर बज्राचार्य, लगायतको टोली संलग्न थिए । यस्तै गौरव पन्थ र शाखा अधिकृत हरिहर पोखरेल, ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आइ सी यु नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायत सहभागी थिए ।

भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठ लगायतको टोली पनि पहिलो र दोस्रो प्रत्यारोपणमा सहभागी थियो ।

भेरी अस्पतालमा हालका लागि महिनाको एक जनाको मृर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको कुरा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदीले बताए ।

यसअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपत्यका बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौैला प्रत्यारोपण शुभारम्भ गर्न प्राविधिक सहयोग गरिसकेको थियो ।

केन्द्रकै सहयोगमा भेरी अस्पताल नेपालगञ्जमा पनि मिर्गौला प्रत्यारोपण सेवा शुरु भएपछि डा. पुकार चन्द्र श्रेष्ठले क्रमश बाँकी ३ वटा प्रदेश कोशी प्रदेश, मधेश प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा पनि यो सेवा विस्तार गर्ने प्रयास भई रहेको जानकारी गराए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले हालसम्म १४०१ जनाको मिर्गौला र ३३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मिर्गौला विरामीको चापलाई ध्यानमा राख्दै केन्द्रले देशको दुई तिहाई प्रत्यारोपण गर्ने गरेको डा श्रेष्ठ बताउँछन् ।

नेपालगञ्जमा प्रत्यारोपण कार्य समाप्त भए लगत्तै मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तक्र्तिया कार्यक्रमको आयोजना गरिएको थियो उक्त कार्यक्रममा नेपाली राष्ट्रिय महिला फूटवल खेलाडी, स्थानीय पत्रकार, समाजसेवी हरुको पनि उपस्थिति थियोे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *