त्रिवि शिक्षण अस्पतालमा पुन: पूर्ण सञ्चालनमा आयो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ७ माघ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आजबाट पुन: पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजमा असहमति जनाउँदै स्वास्थ्य बीमा कार्यक्रम आंशिक रुपमा रोकेको अस्पतालले आज सूचना जारी गर्दै पूर्ण सञ्चालनमा आएको जनाएको हो ।
अस्पताल गत १२ भदौ देखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै आएको थियो । त्यसयता भर्ना भएका वीमित बिरामीहरुले बीमा सेवा सुविधा लिन पाएका थिएनन् ।
आज अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ‘स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अन्तरंग विभागमा भर्ना भएका बिरामीहरुलाई उपलव्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रम गत १२ भदौ देखि स्थगित गरिएकोमा ७ माघ (आज) देखि पुन सञ्चालनमा आउको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङले गत भदौमा बोर्डले जारी गरेको उपचार सुविधा सम्वन्धि नयाँ प्याकेजमा असहमतिसंगै अस्पतालले बीमितहरुको उपचार गरेवापत पाउनुपर्ने सोधभर्नाको ठूलो रकम नआउँदा बाध्यभएर कार्यक्रम आंशिक रुपमा स्थगित भएको बताए । उनले अहिले नयाँ प्याकेज स्थगित भएको र रोकिएको केही रकम छिटै उपलव्ध गराउने आश्वासन पछि सेवा पुन: सञ्चालनमा ल्याएको बताए ।
डा. गुरुङले अहिले पनि स्वास्थ्य बीमा बोर्डबाट पाउनु पर्ने करीव ६९ करोड रकम बाँकी रहेको बताए । उनले बोर्डबाट करीब २० करोड बढीको दावी हेर्न बाँकी रहेको जानकारी आएको र गएको असार सम्मको बाँकी रकम छिटै भुक्तानी गर्ने समेत प्रतिवद्धता जनाएपछि सेवा पुर्न सञ्चालनमा ल्याएको उल्लेख गरे ।
देशकै ठूलो सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुँदा धेरै बीमितहरुले दुख पाएका थिए । तर अस्पतालको पछिल्लो घोषणाले भने वीमित बिरामीहरुलाई ठूलो राहत दिने देखिएको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



