नेपाल अर्बुदरोग निवारण संस्थाले मनायो ४२ औँ बार्षिकोत्सव
क्यान्सर रोग उपचारको क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान

काठमाडौँ, ३१ भदौ । क्यान्सर रोगबिरुद्धको अभियानमा लामो समय देखि क्रियाशिल नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले ४२ बार्षिकोत्सव मनाएको छ । सोमबार काठमाडौँको प्रज्ञाभवनमा विशेष कार्यक्रम गरी उसले आफ्नो ४२ औँ बार्षिकोत्सव समारोह मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्न उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्का पुगेका थिए । सो अवसरमा बोल्दै उनले क्यान्सर सम्बन्धि जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले देशभरका क्यान्सर रोगीका लागि उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन यस संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको उपचार सेवालाई सुलभ बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले आफ्नो संस्थाले क्यान्सर रोग बिरुद्ध सचेतना तथा उपचार सेवामा चार दशक अघि देखि निरन्तर लागेको भन्दै स्तरीय सेवाका लागि भने अझै धेरै गर्न आवश्यक रहेको बताए । उनले नसर्ने रोगविरुद्धको अभियानमा सरकारले उपचारसंगै जनचेतनामुलक कार्यक्रममा ध्यान दिनु पर्ने भन्दै सो कार्यमा सामाजिक संघसंस्थासंग हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।
यस्तै संस्थाका महासचिव दीपेन्द्र बान्तवाले देशका ४८ जिल्लामा शाखा खोलेको र १५ हजार भन्दा बढी स्वयंसेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरको क्षेत्रमा संस्थाले गरेको योगदानको प्रसंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए।

कार्यक्रममा क्यान्सर रोग विरुद्धको औषधि उपलव्ध गराउने प्रमुख कम्पनी यतिकेम प्रालि र क्यान्सर उपचारका लागि भारत जाने बिरामीलाई टिकटमा सहुलियत प्रदान गर्ने नेपाल वायुसेवा निगम विशेष सम्मान गरिएको थियो । यस्तै उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नौ जना क्यान्सर विशेषज्ञहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा डा महेश खकुरेल, डा प्रकाशराज न्यौपाने, डा प्रदिप वैद्य, डा उज्वलराज चालिसे, प्रभुराज वैद्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

