बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए

12
Shares

काठमाडौं, १७ साउन । नागरिक स्वास्थ्यमा क्रियाशिल बीएम फाउण्डेसनले गत शुक्रबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ५, मा निशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ ।

ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) फाउन्डेसन तथा बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ को सहयोगमा आयोजित सो शिविरमा ११२ जनाले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।

बीएम फाउण्डेसनकी पब्लिक हेल्थ अफिसर स्वेच्छ मरासिनीका अनुसार सेवाग्राहीमध्ये ७६ जना पुरुष र ३६ जना महिला रहेका थिए। तर ती मधये अधिकांश ज्येष्ठ नागरिक रहेको उनले जानकारी दिईन । उनले राजधानी काठमाडौँकै नगरपालिका भित्र राखिएको शिविरमा यो उपस्थितिले समुदायमा सहज र पहुँचयोग्य आँखा स्वास्थ्य सेवाको आवश्यकता अझै उच्च रहेको देखिएको बताइन् ।

शिविरमा अप्ट्रोमेट्रिस्ट पुजा पण्डित, अप्थाल्मिक असिस्टेन्ट जिज्ञासा लौडारी लगायतको प्राविधिक टोली खटिएको थियो । उनीहरुका अनुसार आँखा परीक्षणका क्रममा २४ जनामा सुरुवाती तथा छिप्पिएको चरणको मोतियाबिन्दु देखिएको थियो। साथै परीक्षणका क्रममा ड्राइ आई सिन्ड्रोम (आँखा सुख्खा हुने), पिङ्गुकुला, कन्जङ्क्टिभाइटिस (रातो आँखा) लगायत अन्य सामान्य आँखा रोग तथा समस्याहरू पनि पहिचान भएका थिए।

आँखा प्राविधिक टोलीले थप उपचार आवश्यक पर्ने व्यक्तिहरुलाई आवश्यक परामर्श प्रदान गर्नुका साथै उपयुक्त स्वास्थ्य संस्थामा थप उपचारका लागि सिफारिस गरेका थिए ।

त्यसअघि शिविरको उद्घाटन गर्ने क्रममा वडाध्यक्ष कृष्णकुमार शाहले स्वास्थ्य शिविरमार्फत समुदायका नागरिक, विशेषगरी ज्येष्ठ नागरिक र सेवा पहुँचबाट टाढा रहेका व्यक्तिहरूलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहकार्य गरेको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *