स्वास्थ्य मन्त्री यादवको जेनेभा भ्रमण स्थगित !

काठमाडौँ, ११ जेठ ।  स्वास्थ्य मन्त्री प्रदीप यादवको स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम स्थगित भएको छ । बदलिदो राजनीतिक घटनाक्रमले उनको जेनेभा भ्रमण अन्तिम समयमा आएर रोकिएको हो ।

जेनेभामा आगामी २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा हुँदैछ । त्यहि सभामा नेपालबाट सहभागी हुने ४ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री यादव आज राती त्यस तर्फ जाने कार्यक्रम थियो ।

आज राती एयरपोर्ट जाने र शनिबार विहान २ : १५  बजे मा कतार एयरको उडानबाट दोहा हुँदै जेनेभा जाने तालिका थियो । त्यसमा मन्त्री यादव सहित उनका विज्ञ सल्लाहकार अवधेशकुमार दास, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा चुमनलाल दास थिए ।

टिकट देखि आवासीय सबै व्यवस्था मिलाइसके पछि आज अपरान्ह मन्त्री नजाने बताएका हुन् ।

‘मन्त्री ज्यू भोली विहानको उडानमा नजाने हुनु भयो । सल्लाहकार के गर्नु हुन्छ थाहा छैन तर स्वास्थ्यका दुई अधिकारीहरु महानिर्देशक डा मिश्रा र डा दास भने जानु हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो राखेको थियो । जेनेभा जाने टोली सदस्यहरुले मन्त्री यादवले सभालाई सम्वोधन भाषण समेत तयार गरिदिइसकेका थिए ।

‘केही जरुरी काम परेको छ, भोलि नै जान नमिल्ने भयो, एक दुई दिन पछि जान पनि सकिन्छ भन्नु भएको छ । एक दुई दिन पछि त के जानु होला र,’ स्रोतले भन्यो ।

मन्त्री यादवले किन स्थिगित गरे भ्रमण ?

जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको जसपालाई १४ जेठसम्म तनाव छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर बनेको नयाँ दल जसपाको कानूनी प्रक्रिया नै पुरा नभएको भन्दै सर्बोच्चमा मुद्धा हालेपछि तनाव बढेको हो ।

सो मुद्धालाई अहिले हेर्दा हेर्दैमा राखिएको छ र पेशी १४ जेठका लागि तोकिएको छ । पछिल्लो समय सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेस समेत आक्रामक रुपमा प्रस्तुत भएको र नयाँ जसपाको अस्तित्व नै नराख्ने गरी सर्बोच्चमा मुद्धा परेपछि मन्त्री यादव रोकिएका हुन् ।

‘भन्न त मन्त्री ज्यूले बजेट आउँदै छ । पास गर्नु परयो । नीति तथा कार्यक्रम पनि पास गर्नु परयो । धेरै काम बाँकी छ । अहिले विदेश जाने अवस्था बनेन भन्नु भएको छ । तर चुरो कुरा यो हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

सचिव बुर्लाकोटीको नाम काटेर मन्त्री आफै जान कस्सिएका थिए
सामान्य त यस्तो सभामा मन्त्री सचिव र उच्च अधिकारीहरु जाने प्रचलन हो । कहिलेकाँही मन्त्री जान नभ्याए मन्त्रालयको सचिव ले टोली नेतृत्व गर्दै जाने र सम्वोधन गर्ने कार्यक्रम रहन्छ तर यसपटक दुबै हुने भएनन् ।

अघिल्ला मन्त्री उपेन्द्र यादवले यसपटक जेनेभा सभामा आफू नजाने भन्दै प्रशासन सचिव मधुसुदन बुर्लाकोटीको नाम टिपाएका थिए । तर नयाँ गठबन्धनपछि मन्त्री बनेका यादवले बुर्लाकोटीको नाम हटाई आफ्नो नाम राखेका थिए ।

‘आफ्नो नाम राख्नु त स्वभाविक हो तर जान नसक्दा भने नेपालको अन्तराष्ट्रिय फोरममा कमजोर उपस्थिति मानिने हुन्छ । नेतृत्व विहीन टोलीले के नै गर्न सक्छ र ?,’ एक अधिकारीले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *