इथिकल स्वीकृतिबिनै अनुसन्धान गरेको भन्ने आरोपमा सत्यता छैन : डा. प्रमोद जोशी

काठमाडौँ, १९ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्यक्ष र सदस्य सचिव पदका लागि दरखास्त दिई खुला प्रतिस्पर्धाबाट अन्तर्वार्ताका लागि छनोट भएका परिषद्का पूर्व सदस्य सचिव डा. प्रमोद जोशीले इथिकल स्वीकृतिबिनै स्वास्थ्य अनुसन्धान गरेको भन्ने हालै प्रकाशित एक समाचारको खण्डन गरेका छन्।
उनले परिषद्को इथिकल रिभ्यु बोर्डबाट इथिकल स्वीकृति नलिई गरिने अनुसन्धानको वैद्यता नहुने भन्ने बारेमा आफू जानकार रहेको भन्दै परिषद्को दुई मुख्य पदमा अन्तवार्ता दिने बेलामा यस्तो विषय आउनु दु:खद भएको बताए । उनले सोमबार नै ‘परिषद्को इथिकल रिभ्यु बोर्डबाट इथिकल स्वीकृति नलिई अनुसन्धान गरेको’ भन्ने विषयका सन्दर्भमा आफ्नो ‘तथ्यगत स्पष्टिकरण’ भन्दै विज्ञप्ती जारी गरेका थिए ।
डा. जोशीले आफू माथि आरोप लागेको “Hospital Stay of Orthopedic Cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional Study” शीर्षकको अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा विधिवत् इथिकल स्वीकृति प्राप्त गरेपछि मात्रै सुरु गरेको बताएका छन् ।
उनले उक्त इथिकल स्वीकृतिको आधिकारिक अभिलेख परिषद्मै सुरक्षित रहेको र आवश्यक परे सम्बन्धित निकायबाट पुष्टि गर्न सकिने समेत दावी गरेका छन् ।
आफूले सेती अस्पतालको स्वीकृतिका आधारमा मात्रै अनुसन्धान गरेको भन्ने आरोप सार्वजनिक अभिलेखसँग मेल नखाने उनको भनाइ छ।
स्पष्टिकरणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य अनुसन्धानको नियामक निकाय भएको उल्लेख गर्दै आफूले प्रचलित कानुनी तथा नैतिक मापदण्डको पूर्ण पालना गरेर अनुसन्धान सम्पन्न गरेको दाबी गरेका छन्।
डा. जोशीले तथ्य परीक्षण नगरी तथा सम्बन्धित पक्षसँग जानकारी नै नलिई प्रकाशित समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठा र व्यक्तिगत चरित्रमा अनावश्यक प्रश्न उठाउने प्रयास गरेको पनि बताएका छन्।
उनले सञ्चारमाध्यम तथा सरोकारवालालाई कुनै पनि आरोप वा सूचना सार्वजनिक गर्नुअघि आधिकारिक अभिलेख र प्रमाणको अध्ययन गरी तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।
साथै अनुसन्धानसम्बन्धी कुनै जिज्ञासा वा शंका भए नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आधिकारिक अभिलेखबाट सत्यतथ्य पुष्टि गर्न सकिने उल्लेख गरेका छन्।
यसअघि परिषद्को सदस्य सचिव रहि सकेका डा जोशीले यसपटक परिषद्को अध्यक्ष र सदस्य सचिव गरी दुबै पदमा दरखास्त दिएका थिए । उनलाई छनोट समितिले अन्तर्वार्ताका लागि बोलाएको छ । अन्तर्वार्ता आगामी २१ साउनमा अध्यक्ष र २२ साउनमा सदस्य सचिव पदका लागि तोकिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

