‘बी फार्मा’ पढेको हुँ भन्नेले बिरामीको शल्यक्रिया गर्न थालेपछि….

बुटवल, ४ जेठ । गाउँका बिरामीहरुलाई आफू चिकित्सक हुँ भन्दै शल्यक्रियामा समेत अघि सर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित नैना हेल्थ क्लिनिकमा भारतीय नागरिक नागेन्द्र मिश्राले आफूलाई चिकित्सक भन्दै स्थानीय बिरामीको शल्यक्रिया समेत गर्दै आएका थिए ।

बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

मिश्राले सञ्चालन गरेको क्लिनिक स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनै निकायमा उक्त क्लिनिक दर्ता छैन । दर्ताबिनै सञ्चालनमा रहेको क्लिनिकमा आफूलाई बी फार्मा पढेको बताउने भारतीय नागरिक मिश्राले बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

गोप्य सूचनाका आधारमा बुधबार प्रजिअ अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, स्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख गौरव ढकाल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर लगायतको टोली त्यहाँ पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार मिश्राले क्लिनिकमा बिरामीको पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया गर्दै आएका थिए । मिश्रालाई पक्राउ गरेपछि थप अनुसन्धान सुरु गर्न प्रहरीलाई जिम्मा लगाइएको छ । ‘हामीलाई क्लिनिकमा फार्मेसी पढेको बताउने भारतीय नागरिकले शल्यक्रिया गर्दै आएको सूचना आएको थियो, सूचनालाई फलो गर्दै हामी त्यहाँ पुग्दा सही भएको पाइयो,’ उनले भने, ‘अहिलेसम्म मिश्राले उपचार गरेका बिरामीहरूसँग बुझ्छौँ, अन्य पाटाहरू अनुसन्धान गर्छौँ र यसमा संलग्न अरू भए खोज्छौँ, त्यसपछि बाँकी कुराहरू बाहिर आउलान् ।’

क्लिनिकमा एउटा कोठामा बेड राखिएको छ । स्थानीयका अनुसार मिश्राले आफूलाई चिकित्सक बताउने गरेका थिए । त्यहाँ उपचारमा जानेहरूलाई क्लिनिकको भित्रपट्टी रहेको कोठामा रहेको बेडमा राखेर शल्यक्रिया गर्ने गरेका थिए । यस्तै झ्यालमा किला गाडेर स्लाइन पानी चढाउने, अक्सिजन दिने गरेको पनि भेटिएको छ ।

प्रजिअ अर्यालले आफूहरुसंग मिश्राले भारतमा बी फार्मा गरेको बताए पनि कुनै पनि सर्टिफिकेट देखाउन नसकेको बताए ।

कानुनतः फार्मेसिस्टले औषधी विक्री गर्न मात्रै पाउँछन् । तर मिश्राले आफूलाई चिकित्सक बताएर धमाधम शल्यक्रिया गरिरहेका थिए । प्रशासनको टोली पुग्दा उनले एक वृद्धको शल्यक्रिया गरिरहेका थिए । त्यहाँ उपचारमा आएका बिरामीहरूमध्ये केहीले आफूहरू शल्यक्रियाका लागि आएको, कतिले शल्यक्रियापछि फ्लोअपमा आएको बताएका थिए । अर्यालले भने, ‘बिरामीहरूसँगको कुराकानी, शल्यक्रिया गरिरहेको अवस्थामा मिश्रा भेटिनुले गैरकानुनी भएको ठहर भयो, त्यसपछि फार्मेसी शील गरेर मिश्रालाई नियन्त्रणमा लिएका हौँ ।’

स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक कुनै पनि निकायमा दर्ता नगरी क्लिनिक सञ्चालन गरेको र गैर कानुनीरुपमा फार्मेसी पढेको व्यक्तिले बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएको बताए । उनले मिश्रालाई प्रहरीले अनुसन्धान गर्ने र त्यसपछि आवश्यक कानुनी कारबाही हुने बताए ।

तराईँका सिमा क्षेत्रमा चिकित्सक हुँ भन्दै आउने भारतीयहरु प्रसस्तै भेटिने गरेका छन् । चिकित्सक मात्रै होइन यी क्षेत्रहरुमा ग्यारेन्टीका साथ निको हुने औषधि भन्दै दर्ता विनाका औषधिहरुको खुलेआम औषधि बिक्री बितरण हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *