भारतमा उत्पादित एभरेष्ट र एमडीएच ब्राण्डका मसला आयात तथा बिक्री वितरणमा नेपालले पनि रोक लगायो

काठमाडौँ, ४ जेठ । भारतमा उत्पादन हुने एभरेष्ट र एमडीएच ब्राण्डका मसला बिक्री वितरण नेपालमा पनि प्रतिवन्ध लगाइएको छ । स्वास्थ्यका लागि हानिकारक भन्दै हङकंङ, सिंगापुर, लगायतका विभिन्न मुलुकमा प्रतिवन्ध लगाएपछि सो ब्राण्डका मसला बिक्री बितरणमा नेपाल सरकारले औपचारिक रुपमा प्रतिवन्ध लगाएको हो ।

खाद्य तथा गुण नियन्त्रण विभागले विहिबार देखि सो ब्राण्डका मसलाको आयातमा रोक लगाउनुको साथै नेपाल आइसकेका मसला फिर्ता पठाउन मातहतका निकायलाई पत्राचार गरेको छ ।

विभागका महानिर्देशक डा मनिता जोशी बैद्यले भारतमा उत्पादित एभरेष्ट तथा एमडीएच ब्राण्डका केही मसलामा एथिलिन अक्साइड देखिएका कारण तत्कालका लागि आयातमा प्रतिवन्ध लगाइएको बताइन ।

हङकंङको सेन्टर फर फुड सेफ्टी अफ द फुड एण्ड हाइजिन डिपार्टमेन्ट तथा सिंगापुरको सिंगापुर फुड एजेन्सीबाट रोक लगाइसकेको कुरा जानकारीमा आएपछि विभागले पनि आयातमा प्रतिवन्ध लगाएको उनले बताइन ।

हंङकंङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टबाट उत्पादित मसलामा किटनासक एथिनिल अक्साइड भेटिएको दावी गरेको थियो । उसले यी कम्पनीबाट उत्पादित मसलाहरु प्रयोग नगर्न आम सर्वसाधारणसमक्ष आग्रह गरेको थियो ।

सो विभागले एमडीएचबाट उत्पादित मद्रास करी पाउडर, सांभर मसला मिक्स पाउडर र करी पाउडर मिक्स मसलामा किटनासक एथिनिल अक्साइड पाइएको बताइएको छ ।

त्यहाँको खाद्य सुरक्षा विभाग सेन्टर फर फुड सेफ्टीले बिक्री रोक्नुपर्नाको कारण उल्लेख गर्दै भनेको छ क्यान्सर सम्वन्धी अनुसन्धान गर्ने एजेन्सीले एथिलीन अक्साइडको ग्रुप १ कार्सिनोजेनमा राखेको छ ।

कार्सिनोजेन यस्तो पदार्थ हो जसको प्रयोगले क्यान्सर हुने खतरा रहन्छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *