आँखा उपचारका लागि तेस्रो मुलुकबाट आउने बढ्न थाले, एक वर्ष भित्र ४ हजार बढी बंगलादेशीले लिए सेवा

काठमाडौँ, १९ चैत । नेपाल आँखा उपचारमा आत्मनिर्भर मानिन्छ । आत्म निर्भर मात्रै होइन विश्वमै आँखा उपचार सेवा सबैभन्दा सस्तोमा उपलव्ध गराउने देशको रुपमा पनि चिनिन्छ । यसैले त पछिल्लो समय आँखा उपचारकै लागि तेस्रो मुलुकबाट समेत बिरामीहरु आउन थालेका छन् ।
नेपाल नेत्र ज्योति संघका अनुसार अहिले आँखा उपचारका लागि भारत, बंगालदेश, भुटान लगायतका देशबाट बिरामीहरु आइरहेका छन् ।
त्यसबाहेक दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, मध्येपूर्वका देशका नागरिकहरु समेत फाट्टफुट्ट रुपमा आँखा उपचारका लागि आइरहेका छन् ।
संघका महासचिव भरतबहादुर चन्दले गतवर्ष ३३ लाख बढीले आँखा उपचार सेवा लिँदा ८ लाख बढी विदेशी रहेको बताए ।
‘त्यसमा अधिकांश त भारतीय नै हुन् । त्यसबाहेक बंगालदेशबाट पनि आँखाका बिरामीहरु बढ्दै गएका छन् । गतवर्ष बंगलादेशका ४ हजार बढी नागरिकले सेवा लिए,’ महासचिव चन्दले अगाडी थपे, ‘यहाँको गुणस्तरीय र कम शुल्कमा हुने आँखा उपचार सेवाबाट विदेशी समेत आकर्षित भएका छन् ।’
संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र नेपाललाई मेडिकल क्षेत्रको हब बनाउने सरकारको योजनालाई कार्यान्वयन तहमा सजिलोगरी आँखा सेवाले ल्याउने बताए ।
‘नेपालको प्राकृतिक सौन्दर्य, बातावरण आदिवाट विदेशीहरु मोहित छन्, त्यसमाथि संसारकै सस्तो शुल्कमा विश्वस्तरीय आँखाको उपचार यहाँ हुने गर्दछ । त्यसैले पनि यसको राम्ररी प्रचार गर्न सके विदेशीहरुको ओइरो नै लाग्दथ्यो,’ उनले भने ।
त्यसो त संघले पछिल्लो समय हंङकंङ, बेलायत लगायतका देशमा सहयोग समिति खोलेको छ । सो समितिले नेपालमा आँखा उपचार सेवाबारे प्रचार प्रसार गर्ने र नेपालमा उपचारका लागि पठाउन प्रेरित गर्ने बताइएको छ । यस्तै संघले भारतसंगै बंगलादेश, थाइल्याण्ड, म्यानमार, लगायतका देशमा नेपालबाट गएर निशुल्क आँखा शिविर गर्ने काम पनि गरेको छ ।
‘अब हाम्रो नीति नेपालीहरु बढी भएका देशहरुमा पनि शिविर सञ्चालन गर्ने हो । ओमानमा अब गर्दैछौँ, मलेसिया, युएई, कुवेत लगायतका देशहरुमा पनि नियमित शिविर गर्ने योजना छ,’ कार्यकारी निर्देशक डा. मिश्रले भने ।
यता नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले नेपालमा मेडिकल मेडिकल टुरिजमको विकास गर्नका लागि राज्य पक्षले समेत सहजीकरण गर्नु पर्ने बताए । ‘अब नेपालले विदेशीका लागि मेडिकल भिषा सहज रुपमा उपलव्ध गराउनु पर्दछ । यसले नेपालको पर्यटन क्षेत्रमा समेत लाभ पुग्छ । जस्तै सस्तोमा आँखा उपचार गर्ने र बाँकी पैसाले नेपाल घुमेर फर्किन सकिन्छ । त्यो कुरालाई हामीले प्रमोट गर्न सक्यौँ भने नेपालको मेडिकल टुरिजमले थप गति लिने थियो,’ उनले भने ।
संघले आफ्ना २८ वटा आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्रबाट दिने सेवामा स्वदेशी र विदेशी भनेर भेदभाव नगरिएको जनाएको छ । स्वदेशी र विदेशीका लागि उपचार शुल्क पनि समान छ । सेवा पनि उहि नै छ । त्यसैले विदेशीहरु नेपाल आएर उपचार गर्न थालेको अधिकारीहरुको अनुमान छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



