१० हजार किशोरीहरुलाई एचपीभी खोपको दोस्रो मात्रा दिईदै

 

काठमाडौँ, ७ चैत । सरकारले गत भदौ असोजमा १४ वर्षका किशोरीहरुलाई दिएको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोशी, गण्डकी, मधेश र कर्णालीमा आज देखि दोस्रो मात्रा लगाउन थालेको छ । उता लुम्बिनीमा भने हिजो देखि नै सुरु गरेको हो । यता बागमतीमा ८ चैत अर्थात भोलि देखि र सुदूरपश्चिममा १५ चैत देखि सुरु हुने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमले बताए ।

उनका अनुसार यो खोप कोशी प्रदेशको कोशी अस्पताल, मधेश प्रदेशको नारायणी अस्पताल बीरगञ्ज, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँ, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप दिर्ईदै छ । यस्तै कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेत र सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा खोप लगाइने छ ।

सरकारले अघिल्लो वर्षको बजेटबाट गतवर्ष २० हजार भाइल एचपीभी खोप ल्याएको थियो । दुई डोज लगाउनु पर्ने सो खोप १० हजार जनाका लागि छुट्याइएको थियो । तर पहिलो डोज ९ हजार ९८० जनाले लिएका थिए ।

यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।

एचपीभी भनेको के हो ?

एचपीभी भनेको एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो ।

पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी एचपीभीले गराउँछ । एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *