विश्वका ३ अर्व ५० करोड मानिस मुख तथा दन्त समस्याबाट प्रभावित

काठमाडौँ, ७ चैत । विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा सार्वजनिक गरेको ग्लोबल ओरल हेल्थ स्टाटस रिपोर्टले विश्वभर ३ अर्व ५० करोड मानिस मुख तथा दन्त सम्वन्धी रोगबाट प्रभावित भएको देखाएको छ ।

सोही रिपोर्टले प्रभावित भएका ४ मध्ये ३ जना मध्यम आय भएका देशका बासिन्दा भएको बताएको छ ।

सो रिपोर्टले अर्को के पनि भनेको छ भने विश्वका करीव २ अर्व मानिसहरु दाँतको स्थायी क्षयबाट ग्रस्त छन् । यस्तै ५१ करोड १४ लाख बालबालिकाहरु दाँत किराले खाने समस्याबाट ग्रसित छन् ।

नेपालमा मुख तथा दन्त स्वास्थ्यसंग सम्वन्धित समस्या के कस्तो छ आधिकारिक तथ्यांक छैन । तर कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटलले ७३ प्रतिशत विद्यालय तहका बालबालिकाहरुमा दाँत किराले खाने समस्या भएको आफ्नो अध्ययनले देखाएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले धेरै जसो मुख स्वास्थ्यसंग जोडिएका समस्याहरु रोकथाम गर्न सकिने बताएको छ । दाँत किराले खाने, गिजा सम्वन्धी रोग, दाँत झर्ने र मुखको क्यान्सर जस्ता समस्या हुने गर्दछन् । तर नियमित मुख तथा दाँतको सरसफाई र हेरचाह गरियो भने यी रोग लाग्नबाट जोगिन सकिन्छ । यदि लागि नै हाल्यो भने पनि नियन्त्रण गर्न सकिन्छ ।

बढ्दो शहरीकरण र बदलिएको जीवनशैलीको असर मुख तथा दन्त स्वास्थ्यमा पनि देखिन थालेको छ । चिनीजन्य खाद्य पदार्थ, सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थहरु मुख तथा दन्त स्वास्थ्य समस्याका प्रमुख कारक मानिन्छ ।

के गर्ने त ?
मुख तथा दन्त स्वास्थ्यबाट बच्नका लागि हामीले आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्नु पर्ने हुन्छ । डब्लुएचओ भन्छ,

  • खानेकुरामा चिनीजन्य खानेकुरा कम गरौँ र फलफुल तथा सागपात बढी प्रयोग गरौँ ।
  • कुनै पनि खालका सुर्तीजन्य पदार्थको प्रयोग गर्दै नगरौँ ।
  • मदिराजन्य पदार्थको उपभोग कम गरौँ ।
  • साइकल मोटरसाइकल जस्ता सवारी साधनको प्रयोग गर्दा मुख तथा दन्त सुरक्षा सम्वन्धी बस्तुहरुको प्रयोग गरौँ ।
  • फ्लोराइडको पर्याप्त प्रयोग दन्त क्षय रोकथामको लागि प्रभावकारी हुन्छ । त्यसकारण फ्लोराइड युक्त टूथपेष्ट (१००० देखि १५०० पीपीएस)को साथ दैनिक दुई पटक दाँत माझ्न प्रोत्साहन गर्नुपर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *