पाठेघरको मुखको क्यान्सरविरुद्ध दिईने एचपीभी खोप बिस्तार कार्यक्रम: बजेटमा आयो, कार्यान्वयनमा आएन

काठमाडौँ, ३ चैत । तत्कालीन अर्थमन्त्री डा प्रकाशगत १५ जेठमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/ ०८१ को बजेटको २३४ नम्बर बुँदामा ‘पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिनेछ,’ भनिएको छ ।

तर, आर्थिक बर्ष सकिन ४ महिना भन्दा कम समय रहँदा यो बुँदाको कार्यान्वयन हुने अत्तोपत्तो छैन ।

बरु खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी बर्षको बजेटमा एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पार्न र त्यसका लागि १ अर्व ३२ करोड बढी बजेट चाहिने विवरण अर्थ मन्त्रालयमा पठाउन भन्दै स्वास्थ्यमा जानकारी गराएको छ ।

यतिवेला राष्ट्रिय योजना आयोगले मन्त्रालयहरुलाई बजेट तथा कार्यक्रमको लागि सिलिङ्ग पठाएको र मन्त्रालयले पनि आगामी बर्षको नीति तथा कार्यक्रम बजेटका विषयमा छलफल गर्न थालेको अवस्था छ ।

त्यसो त अघिल्लो बर्षको बजेटबाट आएको २० हजार भाइल एचपीभी खोपको पहिलो मात्रा लगाउने कार्यक्रम गत २७ भदौ देखि सञ्चालन गरिएको थियो । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालसहित अरु ६ वटा प्रदेशका संघीय अस्पतालहरुमा डेमोस्ट्रेसनको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसको दोस्रो मात्रा अबको केही सातापछि सुरु हुँदैछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बजेटमा उल्लेख गरे झैँ यसवर्ष एचपीभी खोप विस्तार हुनका लागि समय घर्किएको बताए ।

‘मलाई लाग्छ नेपाल सरकारसंग अहिले त्यस्तो बजेट छैन । हामीलाई एचपीभी खोप देशव्यायी रुपमा सञ्चालनमा सहयोग गर्न द भ्याक्सिन एलायन्स गाभी सकारात्मक छ । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौँ । अब आउने एचपीभी खोप गाभीकै सहयोगमा आउने हो । तर आगामी असार मसान्तसम्म आइसक्छ भन्ने लाग्दैन,’ उनले भने ।

सरकारले ९ देखि १४ बर्ष उमेर समूहका करीव १६ लाख बालिका तथा किशोरीहरुलाई यो खोप दिने योजना गरेको छ ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोपको उत्पादन प्रर्याप्त भइसकेको छैन । यो खोपको ग्लोबल्ली सर्टेजका समाचारहरु बेला बखत आइरहेका छन् । गाभीले नेपाल सरकारलाई यो खोप सञ्चालनका लागि सहयोग गर्छु त भनेको छ तर कहिलेसम्म भन्ने अझै टुंगो छैन ।

‘बंगलादेशलाई एचपीभी खोपमा सहयोग गर्छौँ भनेर गाभीले सन् २०१७ मा प्रतिवद्धता जनाएको थियो तर यसवर्ष मात्रै उसले सो सहयोग पाउने भएको छ,’ विभागका एक कर्मचारीले अगाडी थपे, ‘हामीले त गतवर्ष मात्रै प्रस्ताव राखेका हौँ । कहिलेसम्म आउँला ?’

तर, डा विवेकले खोप कार्यक्रममा नेपालको काम गर्ने शैली प्रति गाभीको टोली प्रभावित भइरहेको हुँदा धेरै ढिला नहुने विश्वास व्यक्त गरे ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१८ मा मात्रै ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । सोही वर्ष सोही रोगका कारण ३ लाख १० हजार महिलाको मृत्यु भयो । अझ मृत्यु हुनेमध्येको ८५ प्रतिशत संख्या विकासोन्मुक देशमा रहेको आंकडा छ ।

विश्वमा पाठेघरको मुखको क्यान्सर दर हेर्ने हो भने प्रति एक लाख महिलामा १३.१ प्रतिशतलाई हुने गरेको छ । मृत्यु दर प्रति १ लाखमा ६.९ प्रतिशत रहेको छ ।

दक्षिण एसियामा पाठेघरको मुखको क्यान्सर हुने दर प्रति १ लाखमा १५.८ प्रतिशत रहेको छ । मृत्युदर ९.६ प्रतिशत रहेको छ । छिमेकी मुलुक भारतमा प्रति १ लाखमा ३०.७ प्रतिशत रहेको छ ।

यता नेपालमा पनि विभिन्न अध्ययन्हरुले क्यान्सर रोगको दर बढेको पाइएको छ । त्यसमा पनि महिलाहरुमा हुने पाठेघरको मुखको क्इान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । नेपालमा क्यान्सर रोग पहिचान गर्ने १२ वटा अस्पतालहरुमा गरिएको अध्ययन अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये ठूलो हिस्सा पाठेघरको मुखको क्यान्सरले ओगटेको छ र ३५ देखि ६४ बर्षका महिलाहरु यसमा बढी प्रभावित छन् ।
डब्लुएचओको सन् २०१८ को प्रतिवेदनले नेपालमा क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी अर्थात बार्षिक प्रति १ लाख महिलामा २१.५ प्रतिशत नयाँ थपिने र १४.३ को मृत्यु हुने गरेको देखाएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । एचपीभी भाइरसको २०० बढी किसिमका प्रजातीहरु हुन्छन र त्यसमध्ये १२ प्रजातिले पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छन् । त्यसमा पनि १६ र १८ प्रजातीले सबैभन्दा प्रमुख कारक हुन् । नेपालमा करीव ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १८ र १८ बाट भएको पाइएको छ ।

सरकारी तथा निजी क्षेत्रबाट उपलव्ध छ खोप ?
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पहिले देखि नै आयात गर्दै आएको निजी कम्पनी यति केम डिस्ट्रिव्युटर्सले केही समय अघि मात्रै ९ हजार ९ सय डोज एचपीभी खोप नेपाल भित्र्याएको थियो । बेल्जियमको ग्लैस्को स्मिथक्लाइन (जीएसके) ले उत्पादन गरेको सर्भारिक्स ब्राण्डको खोप उसले भित्र्याएको हो ।

यसअघि अर्को निजी कम्पनी नन्दकेम डिस्ट्रिव्युट्र्सले पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप भित्र्याएको हो । उसले चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड नेममा यो खोप उपलव्ध थियो ।

सरकारले गत भदौमा सञ्चालन गरेको २० हजार भाइल खोपमध्ये दोस्रो डोज दिने तयारी गर्दैछ । निजी अस्पताल, क्लिनिक तथा मेडिकल कलेजहरुले पनि नागरिकको सुविधाका लागि यी खोपहरु सशुल्क उपलव्ध गराईरहेको जनाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *