दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ, २९ माघ । राष्ट्रिय सभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ।

सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन् ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्‍याउन सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त विधेयक सदनमा पेस गरेको थियो ।

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।

उक्त विधेयकमाथिको छलफलमा मदनकुमारी शाह (गरिमा), दिलकुमारी रावल थापा (पार्वती), युवराज शर्मा, सुरेश आले मगर र कमला पन्तले सहभागिता जनाएका थिए ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै राज्यमन्त्री कुमारीले राजधानी बाहिर सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सञ्चालनको लक्ष्य राखेर विधेयक ल्याइएको स्पष्ट पारिन्।

उनले विधेयकमार्फत दक्ष स्वास्थ्य जनशक्तिको विकासमार्फत राष्ट्रलाई सेवा पुर्‍याउने तथा सुदूरपश्चिममा पनि केन्द्रीय विश्वविद्यालय राख्न सकिन्छ भन्ने सन्देश दिइएको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *