स्वास्थ्य बीमा बोर्डमा सदस्य डा. मुक्तिरामलाई निमित्त कार्यकारीको जिम्मा दिदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ माघ । कानुन मिचेर निर्णय गर्न रङ्ग मान्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डमा फेरी अर्को यस्तै निर्णय गर्दैछन् ।

उनले डेढ महिना अघि सदस्यमा नियुक्त गरेका डा. मुक्ति राम श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका छन् । यद्धपी डा. श्रेष्ठले पत्र बुझिसकेका छैनन् ।

‘निमित्तको जिम्मेवारी लिन अस्ति पनि भनेको हो, तर मैले भ्याउँदिन, हुँदैन भनेको थिएँ । तर आज फेरी मन्त्रालयबाट बोलाइएको छ, खोई त्यहि होला कि ?’ नेपाली हेल्थसंग श्रेष्ठले भने ।

‘सदस्य भएको व्यक्ति कार्यकारी भूमिकामा जान मिल्छ त ?’ भन्ने प्रश्नमा उनले कानूनमा स्पष्ट केही नलेखेको भन्दै मन्त्रालयले कानून हेरेरै कदम चालेको हुन सक्ने बताए । ‘सचिव ज्यूहरु हुनुहुन्छ, कानूनका विज्ञहरु पनि छन्, कानून हेरेरै निर्णय गरेको भए पनि कानून हेरेरै निर्णय गरेको होला कि,’उनले भने ।

मन्त्री बस्नेतको सचिवालयले भने डा. श्रेष्ठलाई तत्कालका लागि काम चलाउ जिम्मेवारी दिने निर्णय भएको बताएको छ ।

यता बीमा बोर्ड स्रोतले भने सदस्यलाई कार्यकारी भूमिकामा पठाउन नहुने बताएको छ । ‘मन्त्रालयको कोहीलाई पठाउन बरु मिल्थ्यो तर बाहिरबाट नियुक्त भएको सदस्यलाई कार्यकारीको जिम्मेवारी दिन मिल्दैन कानून विपरित हुन्छ,’ बीमा बोर्डका एक अधिकारीले भने ।

बोर्डका कार्यकारी निर्देशकमा रहेका डा. दामोदर बसौलालाई नचलाउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिइसकपछि गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । यो निर्णयले सरकारविरुद्ध मानहानी लाग्ने जानकारहरु बताउँछन् । तर, मन्त्री बस्नेतले यस्ता कानूनी कुरा हुँदै गर्छ भन्दै मिल्ने नमिल्ने नहेरी निर्णय गर्दै आइरहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *