चुरोट किन्न सक्ने उमेर प्रत्येक वर्ष बढाउने योजनामा बेलायत

प्रधानमन्त्री सुनक भन्छन, 'यो प्रक्रिया चुरोट खरीद सम्पूर्ण जनसंख्याको लागि अवैध नहुँदासम्म जारी रहन्छ'

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इङ्गल्याण्डका मानिसहरुले चुरोट किन्न सक्ने कानूनी उमेर एक वर्ष बढाउने प्रस्ताव गरेका छन् । उनले चुरोट खरीद सम्पूर्ण जनसंख्याको लागि गैरकानूनी नहुँदासम्म उमेर हरेक वर्ष बढाउँदै लैजाने बताएका छन् ।

यो प्रस्तावले बेलायतलाई धूमपानविरुद्धको विश्वकै सबै भन्दा कडा नियम बनाउने देशको रुपमा चिनाउने र प्रमुख सुर्ती उद्योगहरुको बिक्रीलाई नोक्सान बनाउने बताइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार यदि प्रस्तावित कानून पास भयो भने बेलायतमा धूमपान गर्ने उमेर प्रत्येक वर्ष बढ्ने छ र सन् २०४० सम्ममा युवाहरुमाझ धूमपान पूर्ण रुपमा निषेध हुनेछ ।

बुधबार कन्जरभेटिम पार्टीको बार्षिक सम्मेलनमा आफ्नो योजनाहरु सुनाउने क्रममा प्रधानमन्त्री सुनकले भने, ‘सरकार किशोर किशोरीहरुलाई चुरोटको लतमा जानबाट रोक्न चाहन्छ ।’

उनले अगाडी थपे, ‘मानिसहरु जवान हुँदा चुरोट सेवन गर्छन् । पाँच मध्ये चार जनाले २० वर्ष पछि धूमपान गर्न थालेका छन् । तर हामीले अहिले प्रयास गरयौँ भने सुरुमै रोक्न सक्छौँ । धूमपान रोक्न सक्यौँ भने हामी हाम्रो देशमा रोकथाम गर्न सकिने मृत्यु र रोगको सबैभन्दा ठूलो कारण अन्त्य गर्ने बाटोमा हुनेछौँ ।’

हाल बेलायतमा १८ वर्ष भन्दा कम उमेरका मानिसहरुलाई चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न अबैध छ ।

प्रधानमन्त्री सुनकको कार्यालयले नयाँ प्रस्तावबाट अहिले १४ वर्ष पुगेका वा सो भन्दा कम उमेरका बालबालिकाले कहिले पनि चुरोट खरीद गर्न नसक्ने बताएको छ । उनले धूमपानकै कारण बेलायतको स्वास्थ्य सेवालाई बार्षिक रुपमा १७ विलियन पाउण्ड (२०.६ बिलियन डलर) खर्च बढेको बताए ।

हुन त  बेलायतमा धूमपान गर्ने मानिसको संख्या १९७० को दशक देखि झण्डै दुई तिहाईले घटेको बताइएको छ । तर आधिकारी तथ्यांक अनुसार देशमा करीव ६.४ मिलियन मानिसहरु अर्थात जनसंख्याको झण्डै १३ प्रतिशत अझै पनि धूमपान गर्दछन् ।

बेलायत सरकारले सन् २००७ मा सुर्तीजन्य पदार्थको बिक्रीको बैधानिक उमेर १६ बाट बढाएर १८ बर्ष पुुरयाएको हो । यसले १६ र १७ बर्षका बालबालिकामा धूमपानको प्रचलनलाई ३० प्रतिशतले घटाउन सफल भएको सुनकको कार्यालयले जनाएको छ ।

सुनकले सरकार अब बालबालिकाहरुलाई भ्याप वा ई सिगरेटको उपलव्धतामा प्रतिवन्ध लगाउने उपायहरु समेत लागू गर्ने पक्षमा रहेको बताए ।

हाल बेलायतमा १८ बर्ष मुनिका बालबालिकालाई भ्याप बेच्न गैरकानूनी छ । तर अधिकारीहरु भन्छन, पछिल्लो तीन वर्षमा भ्याप प्रयोग गर्ने बालबालिकाको संंख्या तीन गुणाले बढेको छ । अहिले बालबालिकाहरु चुरोट भन्दा भ्याप प्रयोगमा लालयित देखिन्छन् ।

उनले नयाँ प्रस्तावमा युवामाझ लोकप्रिय भएको भापमा प्रतिवन्ध लगाउने, स्वाद र प्याकेजिङ्गलाई पनि नियमन गर्ने बताए ।

प्रधानमन्त्री सुनकले बुधबार जारी गरेको प्रस्तावलाई कानूनी रुप दिनका लागि बेलायतको संसदमा स्वतन्त्र मतदानबाट पारित गर्नु पर्छ । स्वतन्त्रको अर्थ सांसदहरुले पार्टीको नीति अनुसार नभई आफूले चाहे अनुसार मतदान गर्न सक्छन् ।

यदि पास भयो भने बेलायत सुर्तीजन्य पदार्थ सम्वन्धी न्युजिल्याण्डको नीतिमा सहभागी हुने पहिलो युरोपेली देश बन्नेछ । न्युजिल्याण्डले गत वर्ष यस्तै घोषणा गरेको थियो । उसले सन् २००९ पछि जन्मने नागरिकले चुरोट खरीद तथा प्रयोग गर्नै नमिल्ने कानून पारित गरेको छ ।

कानूनी रुपमा धूमपान प्रयोगकर्ताको उमेर बढाउने प्रधानमन्त्रीको योजनालाई स्वास्थ्यविज्ञहरुले स्वागत गरेका छन् । धूमपानविरुद्धको अभियान चलाईरहेको समूह एक्सन अन स्मोकिङ्ग एण्ड हेल्थले पनि सरकारी कदमको स्वागत गरेको छ ।

तर सुर्ती उद्योगहरुको समूहले विरोध गरेको छ । उसले सरकारको यो कदमले बयस्कहरुको अधिकारमा असामान्य आक्रमण गरेको र कालोबजारी व्यापारलाई बढावा दिने बताएको छ ।

विस्टन चुरोट तथा गोल्डेन भर्जिनिया सुर्ती उत्पादन गर्ने उद्योग इम्पेरियल ब्राण्ड्सले प्रतिवन्ध लगाउने सरकारी कदमले अनपेक्षित परिणाम आउने चेतावनी दिएको छ । यस्तै लकी स्ट्राइक र डनहिल निर्माता ब्रिटिस अमेरिकन टोबाको कम्पनीले प्रधानमन्त्रीको नयाँ प्रस्ताव लागू गर्न गाह्रो हुने बताएको छ ।

प्रधानमन्त्री सुनकको घोषणा पछि बुधबार बेलायतमा सुर्ती उद्योगहरुको शेयरमा गिरावट आएको छ ।

डनहिल र लकी स्ट्राइक उत्पादन गर्ने ब्रिटिस अमेरिकन टोबाकोले प्रधानमन्त्रीको घोषणा पछि आफ्नो शेयर मूल्य फ्ल्याटमा १ प्रतिशतले घटेको बताएको छ । यस्तै अर्को कम्पनी इम्पेरियल ब्राण्डले पनि सुनकको भाषणपछि आफ्नो शेरमा २.४ प्रतिशतले गिरावट आएको बताएको छ ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *