एनएमए नेशनल हेल्थ समिटको तेस्रो संस्करण आगामी १२ र १३ असोजमा हुने
काठमाडौँ, ७ असोज । नेपाल चिकित्सक संघको आयोजनामा हुँदै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण आगामी १२ र १३ असोजमा हुने भएको छ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट -२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ सुरु हुन लागेको यो सम्मेलनमा अरु ६ वटा छुट्टाछुट्टै विषयवस्तुमा तय गरिएको छ ।
सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सम्मेलन आयोजक कमिटिका अध्यक्ष प्राडा चोपलाल भुसालले सम्मेलनले स्वास्थ्यका विविध विषयमा छलफल मात्र नभएर त्यसको समाधानको पाटोको विकल्पहरु सहित निचोड निकाल्ने बताए ।
उनले २० वर्ष अघि र अहिले स्वास्थ्यमा छलफल गर्नुपर्ने विषयमा फरक आएको भन्दै यो सम्मेलनले केही हदसम्म मानव स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य प्रवाह लगायतका विषयमा गहनतम विचार विमर्श गर्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले एनएमए तेस्रो नेशनल हेल्थ समिटमा स्वास्थ्यका विभिन्न ६ विषयमा विज्ञहरुमार्फत गहन छलफल हुने बताए । उनले भने यसपटक पहिलो विषयवस्तु दोस्रो नेशनल हेल्थ समिटबाट भएका उपलब्धीका बारेमा छलफल ।
दोस्रोमा चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, तेस्रोमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, चौथोमा सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, पाँचौमा समान सेवाका लागि स्वास्थ्य प्रणाली र छैटौँमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा छलफल हुने छ ।
थप सेसनका रुपमा एन्टिबायोटिकको गलत प्रयोगकाबारेमा पनि सेसन राख्नेबारे छलफल भइरहेको डा कार्कीले जानकारी दिए ।
डा कार्कीले उक्त सम्मेलनको समापन पश्चात् बैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकिकृत गरी रणनीतिमूलक नीतिगत सुझाब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने समेत जानकारी दिए ।
संघका पूर्व अध्यक्ष डा लोचन कार्कीले संघले पेशागत हकहित बाहेक स्वास्थ्य अनुसन्धानलाई बढावा दिन, स्वास्थ्य नीतिलाई सहयोग गर्नका लागि यो समिट आयोजना गरिएको बताए ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक बर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम गत तीन वर्षदेखि संघले राष्ट्रिय सम्मेलन गर्न थालेको हो ।