राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य विभाग सल्लाहकार बने डा. प्याकुरेल, उपप्रमुखमा डा. खराल

रास्वपाको स्वास्थ्य विभागका पदाधिकारी तथा विज्ञ चिकित्सकहरु मंगलबार छलफलका क्रममा । तस्वीर स्रोत: डा. तोसिमा कार्कीको फेसबुक

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. सुवास प्याकुरेललाई स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकार बनाएको छ । हेल्थ कन्सर्न नेपालका संस्थापक तथा विभिन्न स्वास्थ्य परियोजनाका अगुवा डा. प्याकुरेललाई मंगलबार पार्टीले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनित गरेको हो ।

यस्तै रास्वपाले विभागको उपप्रमुखमा डा पुष्पमणि खराललाई मनोनित गरेको छ । डा खराल यसअघि नेकपा एमाले निकटको राष्ट्रिय चिकित्सक संघमा महासचिव थिए । उनी गत असारमा सो संगठनबाट राजिनामा दिई रास्वपामा आवद्ध भएका थिए ।

रास्वपाको स्वास्थ्य विभाग प्रमुख भने सांसद डा तोसिमा कार्की रहेकी छन् । सो विभागले केन्द्रीय समिति तथा प्रदेशहरुको संयोजक तोक्ने काम गरिरहेको छ ।

नव नियुक्त सल्लाहकार डा. प्याकुरेलले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने सुधारका लागि नयाँ जोस जाँगरका साथ उदाउँदै गरेको पार्टीमा आवद्ध भएर सहयोग गर्न खोजेको बताए । उनले आफूले दिएका सहि सल्लाहहरु पार्टीले कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष डा खरालले अहिले विभागको समिति विस्तारको काम भइरहेको भन्दै संख्या थपिदै जाने बताए । उनले सरकारी सेवामा आवद्ध व्यक्तिले संगठनमा आवद्ध हुन नपाउने भन्दै त्यस्ता व्यक्तिहरुसंग अनौपचारिक रुपमा सल्लाह र छलफल गर्ने गरेको बताए ।

उनले पार्टीको स्वास्थ्य नीति बनाउने बारेमा पनि विभागले गृह कार्य अघि बढाएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *