वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने
काठमाडौँ, २ असोज । वीर अस्पतालमा साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ । अस्पतालले साताको छ दिन नै युरोलोजी अन्तरगर्तका शल्यक्रिया गर्ने निर्णय गर्दै त्यसमध्येको तीन दिन मिर्गौलाको प्रत्यारोपण गर्ने भएको हो ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले प्रत्येक साताको सोमबार बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने बताए । उनले आइतबार, मंगलबार र बिहीबार युरोलोजी तर्फको ओपिडीसंगै त्यस अन्तरगर्तका अरु शल्यक्रिया गरिने बताए ।
‘मिर्गौलाको पत्थरी लगायतका समस्या लिएर आउने संख्या बढी हुन थाल्यो । त्यसैले साताको तीन दिन यी खालका शल्यक्रिया हुन्छ । त्यहि दिन नै ओपिडी पनि सञ्चालन हुन्छ र बाँकी तीन दिन मिर्गौला प्रत्यारोपण हुन्छ,’ उनले भने ।
पछिल्ला दिनहरुमा सेवा सुधारमा लागेको वीर अस्पताल प्रशासनले लामो समय पालो पर्खनुपर्ने अवस्थालाई समेत न्युनिकरण गर्दै आएको छ ।
डा पौडेलले बजेट अभावका कारण सेवामा सुधार ल्याउनका लागि साथ दिएका स्वास्थ्यकर्मीका लागि भने चाहेर पनि प्रोत्साहन प्याकेज उपलव्ध गराउन नसकिएको बताए ।