आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच स्वास्थ्य मन्त्रालयमा बार्ता हुँदै
काठमाडौँ, ३१ भदौ । उपचार सेवा दिने अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवाहरु ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सक संघ संग सरकारले बार्ता सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको नेतृत्वमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की नेतृत्वको चिकित्सक प्रतिनिधिबीच बार्ता सुरु भएको हो ।
आइतबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै आन्दोलनरत चिकित्सक संग बार्ता गर्न डा देवकोटाको संयोजकत्वमा टोली गठन गरेका थिए ।
उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव समेत सहभागी छन् ।
‘खासमा चिकित्सकहरु स्वास्थ्य संस्था नै बन्द गरेर आन्दोलनमा उत्रिएको अवस्था छ । यस विषयमा छलफल गरि निकास निकाल्नका लागि बार्ताको पहल भएको हो,’ मन्त्रालयका सहसचिव तुल्सीनाथ गौतमले भने । उनले चिकित्सक सुरक्षा सम्वन्धी कुरा, कानून कार्यान्वयनको कुराबारे पनि छलफल गर्न सम्वन्धी मन्त्रालयका प्रतिनिधिहरु राखिएको बताए ।
चिकित्सक तर्फको बार्ता टोलीमा रहेका सहसचिव डा लिजन महर्जनले बार्ता सुरु भएको र आफूहरुले उठाएका विषयमा छलफल केन्द्रीत रहेको बताए ।
हेटौँडास्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि गत २७ भदौमा एक महिना अघि उपचारका लागि आएका बिरामीको आफन्तले आक्रमण गरेका थिए ।
त्यसको बिरोधमा चिकित्सकहरुले देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् । चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलन गर्दा हजारौँ बिरामी उपचार सेवाबाट बन्चित भएका छन् ।
चिकित्सकहरुको सेवा ठप्प पारेर गरेको आन्दोलनको चौतर्फी बिरोध भएको छ ।