नर्सिङ र मिडवाइफ्री लाइसेन्स परीक्षामा कर्णालीका विद्यार्थी सतप्रतिशत उत्तीर्ण !

3.7k
Shares

काठमाडौँ, २३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन पुरा गरेका नर्स तथा मिडवाइफले लाइसेन्स परीक्षामा सत प्रतिशत नतिजा निकालेका छन् ।

नेपाल नर्सिङ परिषद्ले गत २३ असारमा लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी सबै उत्तीर्ण भएपछि सत प्रतिशत नतिजा आएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए । ती मध्ये सबै जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका छन् ।

परीक्षाको मर्यादाविपरित गतिविधि गरेको सार्वजनिक भएपछि प्रहरी केश परेको यो परीक्षाको विशेष छानविन गरी झण्डै १ महिना पछि नतिजा प्रकाशित भएको थियो । परिषद्ले गत २१ साउनमा प्रकाशित गरेको नतिजा अनुसार नर्सिङ तर्फ कुल ७८ प्रतिशत र मिडवाइफ्री तर्फ कुल ९५ प्रतिशत पास भएका छन् ।

सोही परीक्षामा मर्यादाविपरित कार्य गरेको भन्दै परिषद्ले ७ जनालाई तीन वर्ष लाइसेन्स परीक्षामा भाग लिन नदिने समेत कुल ५७ जनालाई कारवाही गरि नतिजा रोकिदिएको छ । तर, यहि बेला जुम्लाबाट अध्ययन् पुरा गरेका विद्यार्थीले भने प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई उच्च राख्ने गरी सतप्रतिशत नतिजा निकालिदिएका छन् ।

कर्णालीको सतप्रतिशत नतिजा अहिले मात्रै होईन् । करीव एक महिना अघि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको जनस्वास्थ्य विषय (बीपीएच)को नाम दर्ता (लाइसेन्स) परीक्षामा पनि सत प्रतिशत सफलता भएको नतिजा आएको थियो । त्यसबेला देशभर ५२ प्रतिशत उत्तीर्ण हुँदा कर्णालीबाट बीपीएच पुरा गरी लाइसेन्स परीक्षामा सहभागी भएका सबै २० जना उत्तीर्ण भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *